प्रधानमन्त्रीको छ दिने चीन भ्रमणको उपलब्धी के?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा अोली ६ दिने चीन भ्रमण सकेर फर्किएका छन्। उनले फर्किँदै गर्दा त्रिभुवन विमानस्थलमा पत्रकारहरूमाझ भ्रमण सोचे भन्दा बढी सफल भएको प्रतिक्रिया दिए।

भ्रमणले दुर्इ देशबीच सम्बन्धलार्इ नयाँ उचाइमा पुराएको उनले दाबी गरेका छन्।

बेइजिङमा भएको द्वपक्षीय वार्तामा दुई देशबिच सम्पन्न रेल्वे कनेक्टिभिटि सहयोग सम्बन्धी समझदारी भएको छ। ‘यसको कार्यान्वयनबाट केरुङ–रसुवागढी–काठमाडौं रेलमार्ग विकासको लागि चिनियाँ अनुदानमा पूर्व सम्भाव्यता अध्ययन शीघ्र सम्पन्न भई सहयोग सम्बन्धी कारवाही अगाडि बढ्ने छ,’ प्रधानमन्त्रीको तर्फबाट जारी भएको वक्तव्यमा भनिएको छ, ‘यसबाट काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणका लागि पनि आधार तयार हुनेछ।’

प्रधानमन्त्री ओलीले यो सम्झौतालाई द्विपक्षीय सहयोगको इतिहासमा सबैभन्दा महत्वपूर्ण समझदारीको संज्ञा दिए। उनले यसले सीमा वारपार यातायात संजाल सम्बन्धी सहयोगको क्षेत्रमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरेका छन्।

दुई देशबीच स्थल तथा हवाई सम्पर्कको विस्तार गर्न, स्थल यातायातका पूर्वाधार सुदृढ गर्न एवं उत्तर दक्षिण जोड्ने यातायात सन्जाललाई थप सुदृढ बनाउन दुबै देश सहमत भएको उनले जानकारी दिए।

कोशी आर्थिक कोरिडोर, गण्डकी आर्थिक कोरिडोर तथा कर्णाली आर्थिक कोरिडोर विकासको लागि सम्भाव्य सहयोग उपलब्ध गराउनेबारे थप अध्ययन गर्ने सहमति भएको उनले बताए।

दुबै देशका एयरलाइन्स कम्पनीहरुलाई सीधा हवाई सम्पर्क बिस्तारका लागि समेत दुबै देश सहमत भएका छन्।

सीमावारपार प्रसारण लाइन निर्माणका विषयमा समेत सहमति भएको छ। केरुङ–रसुवागढी–गल्छी–रातमाटे ४०० केभी प्रशारण लाइनको संभाव्यता अध्ययन गर्ने सम्बन्धी सम्झौतामा नेपाल विद्युत प्राधिकरण र चिनियाँ स्टेट ग्रिड कर्पोरेसनबिच हस्ताक्षर भएको छ।

तातोपानी खासा नाका सन् २०१९ को मे महिनासम्ममा खुला गर्ने सहमति भएको समेत उनले जानकारी दिए। आपसी सहमतिमा थप व्यापारिक नाका खोल्न दुवै मुलुक सहमत भएको वक्तव्यमा उल्लेख छ।

त्यसैगरी रसुवागढी–केरुङ नाकालाई व्यबस्थित रुपमा संचालन गर्न, स्याफ्रुबेसी रसुवागढी सडक सुधार गर्न तथा हिल्सामा पुल निर्माण यथाशीघ्र सम्पन्न गर्न दुवै देशहरु सहमत भएका छन्।

राष्ट्रपति सी छिट्टै नेपाल आउने
यसैबीच चिनियाँ राष्ट्रपति सी जिङपिङले छिट्टै नेपाल भ्रमण गर्ने समेत प्रधानमन्त्री ओलीले जानकारी दिए। ‘उच्चस्तरीय भ्रमणको आदान प्रदानमार्फत् दुबै देशबीच विद्यमान सम्वन्धलाई विस्तार एवं थप मजवुत बनाउन दुबै देश सहमत भएका छन्,’ वक्तव्यमा भनिएको छ, ‘मैले सम्माननीय राष्ट्रपतिका तर्फबाट महामहिम चिनियाँ राष्ट्रपति र मेरा तर्फबाट महामहिम चिनियाँ प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्ता दिएको छु। चीनको उच्च राजनीतिक नेतृत्वबाट चाँडै नै नेपालको भ्रमण हुने अपेक्षा राखेको छु।’

यी हुन् दुई देशबीच भएका सम्झौता तथा समझदारीहरु
• उर्जा सहयोग सम्बन्धी समझदारीपत्र
• मितेरी पुल पुर्ननिर्माण सम्बन्धी सम्झौता
• रसुवा पुल पुनर्निर्माण सम्बन्धी सम्झौता
• मालसामान ढुवानीका लागि नेपालले चीनको तिब्बती राजमार्ग उपयोग गर्ने सम्बन्धी प्रोटोकल
• लगानी तथा उत्पादन क्षमतामा सहयोग सम्बन्धी समझदारीपत्र
• नेपाल–चीन सहयोग अन्तर्गतका कार्यक्रम र परियोजनाको कार्यान्वयन सहजीकरणका लागि संयन्त्र स्थापना गर्ने सम्बन्धी दुई देशका परराष्ट्र मन्त्रालयहरुबीचको समझदारीपत्र
• नेपाल र चीनका परराष्ट्र मन्त्रालयहरुबिच सहयोग सुदृढीकरण सम्बन्धी समझदारीपत्र
• मानव संशाधन सहयोग सम्बन्धी समझदारीपत्र
• आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी सम्झौता (जस अन्तर्गत नेपाललाई पुनर्निर्माणको लागि चीन सरकारले तीन अरब चिनियाँ युआन सहयोग गर्ने पूर्व घोषित प्रतिबद्धता अनुरुप बाँकी एक अरब युआन सहयोग प्राप्त हुने।)
• नुवाकोट दरबार पूनर्निर्माण सम्बन्धी पत्रको आदान प्रदान
• रसुवामा विद्यालय पूनर्निर्माण सम्बन्धी पत्रको आदान प्रदान
• दोलखामा विद्यालय पूनर्निर्माण सम्बन्धी पत्रको आदान प्रदान
• सिन्धुपाल्चोकमा विद्यालय पूनर्निर्माण सम्बन्धी पत्रको आदान प्रदान
• पूर्वी तराइ नदी नियन्त्रण आयोजना अन्तर्गत झापा जिल्लाका विभिन्न ९ वटा नदी नियन्त्रण सम्बन्धी समझदारीपत्र

यसैबीच प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनका निजी तथा सार्वजनिक क्षेत्रका व्यवसायीहरुबीच ९ वटा जलविद्युत तथा उत्पादनका क्षेत्रमा सम्झौताहरु समेत भएका छन्।

Loading...