असोज १८ गतेदेखि २७ गतेसम्म दशैं मेला २०७५ हुने

चितवन । नेपालीहरुको महान चाड वडा दशैंको अवसर पारी दशैं मेला २०७५ हुने भएको छ । चितवन उद्योग संघको आयोजनामा चितवन औद्योगिक प्रदर्शनी केन्द्र भरतपुरमा असोज १८ गतेदेखि २७ गतेसम्म दशैं मेला २०७५ हुन लागेको हो । संघले सोमवार भरतपुरमा पत्रकार सम्मेलन गरी नुनदेखि उनसम्म एकै ठाउ, दशैं महोत्सव २०७५ घुम्न भरतपुर जाउ भन्ने नारा दिईएको महोत्सवमा सबै प्रकारको उपभोग्य वस्तुहरु उपलब्ध हुने जानकारी दिएको हो।

संघका अध्यक्ष भेषराज दुवाडीले दशैंका लागि चाहिने सबै प्रकारका वस्तुहरु महोत्सवमा पाईने बताउनुभयो । उहाले महोत्सवमा खाद्यान्न, लत्ताकपडा, मरमसालालगायत माछा, कुखुरा, खसी, भेडा, च्याङग्रा, पर्व विशेषका परिकारहरु प्रदर्शनीमा राखिने जानकारी दिनुभयो । अध्यक्ष तथा महोत्सवका संयोजक दुवाडीले स्वदेशमै उत्पादित वस्तुको बजार प्रवद्र्धन एवंम विक्री वितरण, सम्पूर्ण प्रकारका उपभोग्य सामानहरु एउटै छानामुनी सुपथ मूल्यमा उपलब्ध गराई उपभोक्तालाई सेवा प्रदान गर्ने महोत्सवको मूख्य उद्देश्य रहेको बताउनुभयो।

महोत्सवको आकर्षणमा उपभोग्य वस्तुको प्रत्यक्ष अवलोकन एवंम प्रदर्शनी, सबै प्रकारका उपभोग्य वसतुको खरिद–विक्री, होटल तथा रेष्टुरेण्ट परिसर, परम्परागत मनोरञ्जनका सामाग्रीहरु लिङगे पिङ, रोटे पिङ, विविध साँस्कृतिक कार्यक्रमहरु रहेका छन् । महोत्सवमा प्रवेशका लागि विद्यार्थीलाई ३० र आम सर्वसाधरणलाई ५० रुपैयाको टिकट व्यवस्था गरिएको संघले जनाएको छ । महोत्सवमा कुल २ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ।

यसैबीच महोत्सवका लागि स्टल बुकिङ समेत खुल्ला गरिएको छ । स्टल लिन चाहनेले आजैदेखी भदौं मसान्तसम्म सचिवालयमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

Loading...