पर्व सुधार गर्न सरकारलाई आग्रह

रत्ननगर, चितवन । हाल मनाइदै आएका पर्वहरु खगोल विज्ञानसँग मेल नखाने भएकाले पर्व सुधार गर्नुपर्ने बताइएको छ । ब्रह्मसदन आत्रेय गुरुकुल रत्ननगर १३ जयमङ्गला वैदिक नगर चितवनद्वारा बिहिवार आयोजित वैदिक काल गणना सिद्धान्तको औचित्य र अध्यायोपाकर्म विषयक प्रवचन गोष्ठीमा बोल्दै पण्डित कृष्ण प्रसाद दुवाडी (आत्रेय) ले खगोल विज्ञान अनुसार पात्रोहरु तयार गर्नुपर्ने बताए ।
हामीले अहिले मनाइरहेका पर्वहरु, शुभ कार्य, अशुभ कार्य ठिक समयमा मनाएका छैनौं, उनले भने । हरेक चाडपर्व तिथीहरु २५ दिनको फरक परेको छ । प्रत्येक १ वर्षमा २० मिनेटको समय फरक पर्ने भन्दै पण्डित दुवाडीले खगोल विज्ञानसँग मेल खाने गरी पर्व सुधार गर्नुपर्ने पण्डित दुवाडीले बताए । आजभन्दा ५ हजार ८३ वर्ष अघि कलियुग सुरु भएको उनले बताए।

अहिले भन्दा १५ सय वर्ष अगाडिदेखि चाडपर्व एवम् पात्रोहरु सुधार गरिएको छैन । खगोल विज्ञान एवम् वैदिक वेदकै आधारमा पात्रो बनाए पनि समयमानलाई परिवर्तन नगर्दा चाडपर्वहरु उचित समयमा हुन नसकेको उनले बताए ।
नेपाल सरकार पर्व सुधार समितिलाई पनि पर्व सुधार गर्न अनुरोध गरेको भन्दै पण्डित दुवाडीले कुनैपनि पितृकार्य, शुभकर्म, चाडपर्व हुनुपर्ने समयमा नहुँदा कर्मबाट पाउने फल समेत नमिल्ने उनले बताए।

यी विभिन्न कारणले पनि विभिन्न स्थानमा अनिष्ट घटनाहरु भएको समेत उनले बताए । पञ्चाङ्ग निर्णायक समितिले जतिसक्दो छिटो पर्व सुधार गर्नुपर्ने भन्दै पण्डित दुवाडीले हरेक ७२ वर्षमा केन्द्रविन्दुबाट १ दिनको समय घट्ने भएकोले सो सुधार गर्न जरुरी रहेको समेत उनले बताए । सोही आधारमा वैदिक प्रज्ञा प्रतिष्ठान रत्ननगर १३ जयमङ्गला चितवनले विगत ८ वर्षदेखि वैदिक तिथीपत्रम् (वैदिक पात्रो) समेत प्रकाशन गर्दै आएको छ ।

Loading...