असार २९ देखि देशभर प्रदर्शन चलचित्र ‘बोबी’

चितवन । असार २९ देखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘बोबी’को टोली प्रचारप्रसारमा व्यस्त छन् । देशका विभिन्न स्थानमा प्रचार प्रसार गर्दै टोली बुधबार चितवन आइपुगेको छ । चलचित्रका निर्माता एवम् निर्देशक मिलन चाम्स, अभिनेता विजय लामा, नायक नायिका उमेश थापा र कविता गुरूङसहितको टोली चितवन आएर चलचित्रको बारेमा जानकारी गराइएको थियो ।

नेपाली चलचित्र क्षेत्रको लागि मोफसलकै सबैभन्दा ठूलो बजार नै चितवन भएकोले आफ्नो हरेक चलचित्र प्रचारप्रसारको लागि चितवन आएको निर्माता एवम् निर्देशक चाम्सले बताए । आफूले बनाएका चलचित्रमध्ये अहिलेसम्मकै उत्कृष्ट चलचित्र बनाएको उनले दावी गरे । वास्तविक कथा र पात्रमा आधारित रहेर चलचित्र बनाइएकोले पनि अन्य चलचित्रभन्दा फरक र उत्कृष्ट बनेको उनको भनाइ छ ।

चलचित्रका कलाकार विजय लामाले नयाँ पुस्तासँ मिलेर काम गर्न पाउँदा छुट्टै अनुभव भएको बताए । नयाँ कलाकारहरुले पनि पुरानोले भन्दा राम्रो तरिकाले खारिएर काम गरेको हुँदा पुरानालाई चुनौती दिएको उनको भनाइ छ । आफू कलाकारिता क्षेत्रमा नयाँ भए पनि नर्वेमा भएको रेडकार्पेट प्रिमियर शोले थप हौसला मिलेको नायिका कविता गुरूङले बताइन् ।

रुवी राणा, देशभक्त खनाल, रश्मी भट्ट, रवि गिरी, बलदीप राईलगायतका कलाकारको अभिनय रहेको चलचित्रमा नरेश भट्टराई र गिरिराज घिमिरेले कथा लेखेका हुन् । नवराज कृष्ण थापाले खिचेको चलचित्रमा संगीत भने वसन्त थापा र ताराप्रकाश लिम्बुको रहेको छ ।

Loading...