मलेसियाली कारागारमा १५८ नेपाली, घर फर्किने आशामा डिटेन्सन सेन्टरमा १५०

काठमाडौँ । मलेसिया सरकारले अवैध कामदारहरु माथि कारवाहीलाई तिब्र पार्दै स्वदेश फर्काउन थालेको छ।

यसरी पक्राउ पर्नेमा नेपालीहरु समेत रहेका छन्। मलेसिया सरकारले अवैध आप्रवासी लक्षित गरेर अप्रेशन ‘मेगा थ्री जिरो’ सञ्चालन गरेको छ।

यसमा नेपालीहरु समेत पक्राउ परेको बताइएको छ। पक्राउ पर्ने नेपालीको संख्या भने एकीन भएको छैन्।

मलेसिया अध्यागमन विभागले मंगलबारसम्म १ हजार २ सय ८५ जना आप्रबासी कामदार र १६ रोजगारदातालाई नियन्त्रणमा लिएको त्यहाँको सरकारी न्यूज एजेन्सीले जनाएको छ। ती मध्ये कति जना नेपाली पक्राउ परे आधिकारिक रूपमा खुलाइएको छैन।

गैरकानुनी हैसियतमा रहेका नेपालीलार्इ लक्षित गरी मलेसियास्थित नेपाली दूतावासले नेपाली कामदारको संख्या धेरै रहेका स्थानहरू जोहरबारु र पेनाङसहितका सहरमा चेतनामूलक कार्यक्रम चलाइरहेको छ। तोकिएको कम्पनी छाडेका र भिषा सकिएका कामदारलाई दूतावासले सम्पर्कमा आउन आग्रह गरेको छ।

घर फर्कने प्रतिक्षामा रहेका १५० जना नेपालीहरुलाई उनीहरुका परिवार र आफन्तको सम्पर्कमा ल्याउने र मलेसिया सरकारसँग आवश्यक प्रक्रियाका लागि छलफल गरिरहेको दूतावासले जनाएको छ। मलेसियामा करिब ५ लाख नेपालीहरू वैधानिक रूपमा कार्यरत छन्। हजारौँ अवैधानिक अवस्थामा रहेको हुनसक्ने अनुमान छ।

मलेसियाबाट यसरी फर्किन चाहने कामदारका हकमा एकै दिनमा यात्रा अनुमति पत्र दूतावासले उपलब्ध गराइरहेको छ। मलेसियाली कारागारमा १५८, घर फर्किने प्रतिक्षामा रहेका १५० विभिन्न डिटेन्सन सेन्टरमा छन्।

मलेसिया सरकारले भिषा सकिएर वा तोकेको कम्पनीभन्दा बाहिर काम गरिरहेका कामदारलाई अगस्ट ३० भित्र सम्पर्कमा आएमा माफीको निर्णय गरेको हो।

दूतावासका अनुसार यसरी डिटेन्सन सेन्टरमा रहेका नेपालीलाई सरकार र उनीहरुका आफन्तको सहयोगमा घर फर्काउन आवश्यक पहल भइरहेको हो।

Loading...