चितवनमा विद्युतको ट्रान्सफर्मर जल्ने क्रम बृद्धि

चितवन । चितवनमा पछिल्लो केहि महिना यता विद्युतको ट्रान्सफर्मर जल्ने क्रम बढेको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार चालु आर्थिक बर्ष ०७४÷७५ को हाल सम्म विभिन्न क्षमताका १ सय १० ओटा भन्दा बढि ट्रान्सफर्मर जलिसकेको छ । बैशाख देखि भदौ सम्मको अवधिमा ट्रान्सफर्मर जल्ने सिजन नै रहेको प्राधिकरणका कर्मचारी वताउंछन्।

गएको जेठ महिनामा मात्रै २५ ओटा ट्रान्सफर्मर जलेको भरतपुर वितरण केन्द्रका इन्जिनियर प्रितमराज विष्टले जानकारी दिनुभयो । उहाले असार महिनामा पनि १० ओटा भन्दा बढि ट्रान्सफर्मर जलीसकेको वताउनुभयो । तिव्र रुपमा सेवाग्राहि बढ्दा विद्युत खपतमा ओभर लोड बढेको प्राधिकरणले जनाएको छ।

ट्रान्सफर्मर जल्नुको मुख्य कारण विद्युत ओभर लोड, ट्रान्सफर्मरमा एम.सि.सि.वि. नहुनु वा सुरक्षा नहुनु एवं ट्रान्सफर्मरका तारहरु आपसमा टांसिनु रहेको इन्जिनियर विष्टले वताउंनुभयो । चितवनमा ट्रान्सफर्मरको माग पनि उच्च रहेको छ । माग अनुसारको ट्रान्सफर्मर नआउंदा ट्रान्सफर्मरको क्षमता बढाउन नसकिएको उहाको भनाइ छ।

उहाले गत आ.वमा २५ ओटा नयां ट्रान्सफर्मर आएकोमा यस आ.वमा ६ ओटा मात्रै नयां ट्रान्सफर्मर आएको वताउनुभयो । भरतपुर वितरण केन्द्रका अनुसार अझै १ सय १० ओटा नयां ट्रान्सफर्मर आवश्यक छ । गत आ.वमा भरतपुरमा १ सय ३८ ओटा ट्रान्सफर्मर जलेको थियो । चितवनमा २५ केभिए, ५० केभिए, एक सय केभिए र २ सय केभिए क्षमताको ट्रान्सफर्मर प्रयोगमा छन्।

ट्रान्सफर्मरको माग गर्दै विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रमा ४० भन्दा बढि निवेदन आएका छन् । आगामी आ.वका लागी एक सय ७ ओटा नयां ट्रान्सफर्मर माग गरिएको इन्जिनियर विष्टले वताउनुभयो ।

Loading...