पाँच पटकको विश्व विजेता ब्राजिलसँग बदला लिँदै बेल्जियम ३२ वर्षपछि सेमिफाइनलमा

काठमाडौँ । पाँच पटकको विजेता ब्राजिललाई २-१ ले पराजित गर्दै बेल्जियम रसिया विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। योसँगै वेल्जियम ३२ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हो।

शुक्रवार कजानको कजान एरेनामा भएको दोस्रो क्वाटरफाइनलमा बेल्जियमले ब्राजिललाई २-१ ले निरास पार्दै ५५ वर्ष देखिको हारको श्रृङखला तोडेको हो।

खेलको १३औँ मिनेटमै ब्राजिलका फर्नान्डिन्होले गरेको आत्मघाती गोलबाट अग्रता लिएको बेल्जियमको लागि ३१औँ मिनेटमा केभिन डे ब्रुएनाले गोल गर्दै पहिलो हाफमै अग्रता दोब्बर पारे।

दुई गोलले पछि परेको ब्राजिलको लागि दोस्रो हाफमा वैक्लपिक खेलाडी रेनाटो अगस्टोले ७६औँ मिनेटमा एक गोल गर्दै बेल्जियमको अग्रतालार्इ कम गरेका थिए। तर जितका लागि भने यो प्रयाप्त भएन्।

बेल्जियमले अब सन् १९९८ को च्याम्पियन फ्रान्सँग सेमिफाइनल खेल्नेछ। फ्रान्स उरुग्वेलाई २-० ले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ।

यसअघि बेल्जियम सन् १९८६ मा पहिलो पटक सेमिफाइनल पुगेको थियो।

सन् १९६५ मा भएको पहिलो खेलमै ब्राजिललाई पराजित गरेको बेल्जियम त्यसयता लगातार ३ खेलमा ब्राजिलसँग पराजित भएको थियो।

विश्वकपमा यसअघि सन् २००२ मा भएको अन्तिम १६ को खेलमा ब्राजिलले बेल्जियमलाई २-० ले हराएको थियो।

Loading...