मनोज अज्ञातको ‘टुकी’ उपन्यास शनिबार लोकार्पण

चितवन । आख्यानकार मनोज अज्ञातको ‘टुकी’ उपन्यास शनिबार लोकार्पण गरिएको छ । थारू पत्रकार मञ्च चितवनको आयोजनामा शिक्षण पेशा र सञ्चारमा आवद्ध रहेका अज्ञातको पहिलो कृति प्रदेश सांसद रामलाल महतोको हातबाट लोकार्पण गरिएको हो।

लोकार्पाणपछि सांसद महतोले ‘टुकी’ उपन्यासबाट समग्र नेपालकै थारू समुदायबारे विश्वले चिन्ने मौका पाउने बताए । उपन्यासमाथि समीक्षात्मक टिप्पणी गर्दैै साहित्यकार धनराज गिरीले लेखकले लेखेका कृतिलाई कति माथि पु¥याउने भन्ने जिम्मा पाठकको हातमा रहेको बताए । समग्र चितवनको थारू समुदायको कथालाई पाठकसामु प्रस्तुत गर्न सफल भएको उनको भनाइ छ।

यस्तै अर्को समीक्षक साहित्यकार विजय विश्वकर्माले थारू समुदायको इतिहास, संस्कृति र पहिचानलाई प्रस्ट्याउन खोजिएको बताए । चितवन शुक्रनगर सोहसीकी वृद्धा बिक्रमियाले विरक्तिएर घर छाडेको कथालाई उपन्यासमा उन्न सफल भएको उनले बताए।

तर, लेखकले प्रकाशनको हातमा पाण्डुलिपी बुझाएपछि प्रकाशकले ध्यान नदिइएको उनको बुझाइ छ । थारू समुदायको बाहेकका कथामा सम्पादक आफैँ हावी भएकोले त्यति मिठासपन नपाउने उनले बताए । लेखनको हिसाबले धेरै बलियो उपन्यास लेखेको भन्दै प्रकाशकले दोस्रो संस्करण प्रकाशन गर्दा सम्पादनमा ध्यान दिन उनले आग्रह गरे ।

नेपाल पत्रकार महासंघ चितवनका सह–सचिव सन्तकुमार चौधरीले चितवनको थारू समुदायको दस्तावेजलाई उपन्यासको रूपमा बाहिर ल्याउन सफल भएको बताए । कतिपय ठाउँमा शब्दको अर्थ प्रष्ट खुलाउन उपन्यासकार चुकेको भए पनि उपन्यासले थारू समुदायमा नाम राख्ने परम्पराको इतिहासलाई खोतल्ने प्रयास गरिएको बताए।

थारू पत्रकार मञ्च चितवनका अध्यक्ष कारी महतोले अज्ञातको लेखनले समग्र चितवनको थारू समुदायको शीर उँचो भएको प्रतिकृया दिए । भविष्यमा थारू समुदायको इतिहास खोतल्ने क्रममा ‘टुकी’ उपन्यासबाट पनि धेरै जानकारी पाउन सकिने उनको भनाइ छ । उपन्यासको नामअनुसार कार्यक्रमको उद्घाटन पनि टुकी बालेरै गरिएको थियो ।

Loading...