बाढी पहिरोका कारण एक सातामा ५० जनाको मृत्यु ९ वेपत्ता

काठमाडौं । पछिल्लो एक सातामा देशका विभिन्न स्थानमा अाएको अविरल वर्षासँगैको बाढी र पहिरोका कारण ५० जनाको ज्यान गएको छ ।

वर्षापछि तराईमा आएको बाढी र पहाडमा खसेको पहिरोमा परी ५० जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार असार १८ देखि देशका विभिन्न स्थानहरुमा परेको अविरल वर्षाका कारण ९ जना अझै बेपत्ता भएका छन्। उनीहरूको खोजी कार्य भइरहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

तराईमा बाढी पछिको डुबान र पहाडमा गएको पहिरोले २२ जना व्यक्तिहरु घाइते भएका छन् । उनीहरुको देशभरका विभिन्न अस्पतालमा उपचार भइरहेको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामकृष्ण सुवेदीले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ।

बाढी, पहिरो, डुबान र चट्याङबाट प्रभावितहरुको खोज, उद्धार तथा राहत वितरणका लागि सुरक्षाकर्मी, स्थानीय प्रशासन परिचालन गरिएको गृहले जनाएको छ ।

गृहका प्रवक्ता सुवेदीका अनुसार बाढी र पहिरोको सम्भावित क्षतिलाई रोक्न सुरक्षा एकाइ र स्थानीय प्रशासनलाई तयारी अवस्थामा राखिएको छ ।

Loading...