सरकारको गलत प्रचार, जुनसुकै वेला पनि वार्ता वस्न टोली तयार छः चिकित्सक केसी

काठमाडौँ । चिकित्सा शिक्षा र सेवा सुधारको माग राखी ११ दिनदेखि आमरण अनशनमा रहेका डा.गोविन्द केसीले सरकारसँग वार्तामा बस्न तयार भएको बताएका छन्। उनले सरकारले वार्तामा बस्न तयार नभएको भन्दै अनर्गल प्रचार गरिरहेको टिप्पणी गर्दा सरकार तयार भए वार्ता टोली जुनसुकै वेला पनि वार्तामा बस्न तयार रहेको जनाएका हुन्।

‘यतिका दिनसम्म संवेददनहीन र गैर जिम्मेवारीपूर्ण रूपमा माग पूरा गर्न कुनै पहल नगरेको सरकारका तर्फबाट जिम्मेवार व्यक्तिहरूले हामी वार्तामा आउन नचाहेको भनेर दिएको अभिव्यक्तिप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ डा. केसीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘हामी कुनै पनि बेला वार्ताका लागि तयार रहेको र सरकार तयार भएको अवस्थामा तत्काल वार्ता टोली पठाउने जानकारी पनि गराउन चाहन्छौँ।’

उनले सरकार आफूसँग वार्ता गर्न चाहे जुम्ला आउनुपर्ने समेत बताएका छन्। उनले सरकारले वार्ता नै गर्न अावश्यक नभएको समेत बताएका छन्। ‘वार्तामा बस्न नचाहे पनि सरकारले वार्ता गर्न आवश्यक नै छैन, माथेमा प्रतिवेदनअनुसार चिकित्सा शिक्षा विधेयक लागू गरे पुग्छ,’ उनले भनेका छन्।

उनले जनता र विद्यार्थीका पक्षमा विधेयक नअाए अामरण अनशन जारी रहने समेत बताएका छन्।

यसैबीच नेपाल चिकित्सक संघले डा. गोविन्द केसीका मागहरूको समर्थन गर्दै बुधबारदेखि देशभरका सबै स्वास्थ्य संस्थामा बिहान दिनहुँ एक घण्टा काम नगर्ने निर्णय गरेको छ ।

सरकारले समस्या समाधानको पहल नगरे यो समय बढाउँदै लगेर इमर्जेन्सीबाहेकको सेवा बन्द गर्ने संघले चेतावनी दिएको छ । संघले केसीको जीवनरक्षाका लागि दबाब दिन बिहान १० देखि ११ बजेसम्म एक घण्टा काम नगर्ने निर्णय गरेको चिकित्सक संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले जानकारी दिए।

Loading...