भद्र र रुपसीको चीन यात्राः चितवनबाट काठमाडौँ आइपुगे, आज काठमाडौँमा आराम भोली जहाजमा सरर

चितवन । सरकारले उत्तरी छिमेकी चीनलाई उपहार स्वरुप दिन लागिएको एक सिंगे गैंडालाई चितवनबाट काठमाडौं ल्याइएको छ।

चितवनबाट काठमाडाैँ ल्याउन लागिएको गैँडाको केटो भद्र सानो प्वालबाट जन्मभुमि नियाल्दै। तस्विर अनिल ढकालको फेसवुकबाट।

मित्रराष्ट्र चीनलाई उपहारस्वरुप दिन लागिएको २ जोडी गैंडा मध्ये पहिलो चरणमा एक जोडी गैंडालाई चितवनबाट मंगलबार काठमाडौं ल्याइएको हो। यसरी ल्याइएका गैँडालाई भद्र र रुपसी नाम दिइएको छ। नेपाल सरकारले २०७३ साल असार २६ गते चीन सरकारलाई चितवन राष्ट्रिय निकुञ्जबाट २ जोडी एकसिङ्गे गैडाँ दिने निर्णय गरेको थियो ।

संरक्षण, प्राकृतिक प्रजनन् , अध्ययन, अनुसन्धान र संरक्षण शिक्षाको प्रवद्र्धन गर्न उपहार स्वरुप गैँडा दिन लागिएको हो । चीन सरकारलाई उपहार स्वरुप पठाउन लागिएको गैडालाई काठको खोरमा राखेर ट्रकमार्फत् काठमाडौँ ल्याइएको हो।

यी गैँडालाई आज आराम गराएर बिहिबार चीन पठाइने तयारी भइरहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिए ।

१ जोडी गैडाको साथमा नेपालबाट पशु चिकित्सक र गैडाको रेखदेखको गर्ने प्राविधिकसहित ५ जना पनि चीन जाने छन्। चितवनको सौराहाबाट चीन पठाउन लागिएको गैडाँहरुलाई बिदाई गर्न जिल्ला समन्वय समितीका सभापति, चितवनका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, रत्ननगर नगरपालिकाका जनप्रतिनिधी, पर्यटन व्यवसायी, संरक्षणकर्मीहरु सौराहामा भेला भएका थिए।

नेपाल सरकारले यसअघि पनि २६ वटा एकसिङ्गे गैंडा उपहार स्वरुप भारत, अमेरिका, बेलायत, जापान, बंगलादेश, अष्ट्रिया, थाईल्याण्ड, बर्मा, पाकिस्तानलाई दिएको थियो ।

Loading...