पेशावरमा अात्मघाती विस्पोट, एक नेतासहित २० को मृत्यु

काठमाडौं । पाकिस्तानको पेशावरमा आत्मघाती हमला हुँदा एक नेतासहित २० जनाको मृत्यु भएको छ। आक्रमणमा ३० जनाभन्दा बढी घाइते भएका छन् ।

आक्रमणकारीले मंगलबार अबेर राति एक चुनावी कार्यक्रमलाई लक्षित गरी हमला गरेका थिए । सो आक्रमणमा परी ज्यान गुमाउनेमा अवामी नेशनल पार्टी (एएनपी)का नेता हारुन बिलोर समेत रहेको डान न्यूजले जनाएको छ।

पीके-४७ निर्वाचन क्षेत्रमा अायोजित चुनावी कार्यक्रममा बिलोर प्रवेश गर्नासाथ आत्मघाती हमला भएको थियो । उनलाई तत्कालै अस्पतालमा पुर्याइए पनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

पेशावरका सीटी प्रहरी अधिकारी क्वाजी जमीलका अनुसार विष्पोटमा परी घाइते भएका ३० जनाको लेडी रिडिङ अस्पतालमा उपचारका लागि लगिएको छ।

बम निरोधक दस्ताका प्रमुख शौकत मलिकका अनुसार आक्रमणमा करिब ८ किलो डायनामाइटको प्रयोग गरिएको थियो । घटनाको थप अनुसन्धान भइरहेको पाकिस्तानका अधिकारीहरुले बताएका छन् ।

पाकिस्तानमा आगामी २५ जुलाईमा आम चुनाव हुँदैछ ।

Loading...