डा केसीको जीवनरक्षाका लागि डा भट्टराईलाई ज्ञापन

काठमाडौँ । नेपाल चिकित्सक संघले गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका विषयमा १५ औँ पटक अनसनरत डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नयाँशक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईलाई आज ज्ञापनपत्र बुझाएको छ ।

संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठ र महासचिव डा लोचन कार्कीले आज संयोजक डा भट्टराई भेटी अनसनरत डा केसीको जीवन रक्षाका लागि सरकारसमक्ष विशेष पहल गरिदिन आग्रह गरेका हुन्।

डा केसी १५ औँ पटकसम्म अनसन बस्नुपर्ने बाध्यात्मक घटनाक्रमले नेपालमा चिकित्सकीय पेशाको मर्यादा नै धरापमा पर्दै गइरहेको भन्दै संघले संयोजक डा भट्टराईलाई यसअघि संघ र डा केसीसमक्ष सरकारले गरेको पटक पटकको सम्झौता तथा माथेमा आयोगको प्रतिवेदनबमोजिम मेडिकल कलेजहरुको गुणस्तर, विश्वसनीयता तथा पारदर्शीता कायम गर्न माग गरेको छ ।

संघको आग्रहलाई अस्वीकार गरिए डा केसीको जीवन रक्षाका लागि मुलुकभरका आकस्मिक सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने चेतावनी समेत संघले दिएको छ ।

Loading...