लगातारको वर्षापछि देशका विभिन्न स्थानमा सडक अवरूद्ध

काठमाडौँ । रातभर लगातारको वर्षापछि देशका विभिन्न स्थानका सडकहरू अवरूद्ध बनेका छन्। मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीखण्ड पहिराका कारण अवरुद्ध भएको छ।

सिन्धुली फिक्कल गाउँपालिका–२ सुनामबेँसीमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग सिन्धुलीखण्ड अवरुद्ध भएको हो। गए रातिदेखि परेको पानीका कारण सडकमाथिबाट माटो खसिरहँदा अहिले राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए।

राजमार्गमा माटो खस्ने क्रम जारी रहेकाले पन्छाउन सहज नहुँदा सडकमा सवारी आवागमन रोकिएको छ। सडकमा थुप्रिएको माटो पन्छाउन आवश्यक पहल भइरहेको छ।

त्यस्तै बुधबार बेलुकादेखि निरन्तर परिरहेको वर्षाका कारण बाढी तथा पहिरोबाट अरनिको र बीपी राजमार्गका केही ठाउँमा अवरोध आएकाले दुबै राजमार्ग बन्द भएका छन्।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनीलजंग शाहका अनुसार बनेपाको पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपाको पुलबजार डुबानमा परेको छ । यसबाट अरनिको राजमार्ग बन्द भएको छ। बाढीका कारण खोला छेउछाउका बजार क्षेत्रका घर, पसल र टहरा डुबानमा परेको शाहले बताए। मानवीय क्षति नभए पनि खोला बढेका कारण यातायातको कुनै पनि साधन चल्न नसकेको प्रहरीले जनाएको छ।

पहिरोकै कारण पोखरा बाग्लुङ सडक खण्डसमेत अवरूद्ध बनेको छ। सडकखण्डअन्तर्गत पर्वतको मोदी गाउँपालिका–५ बाजुङमा पर्ने भ्याप्ले खोला नजीकै माथिबाट लेदो झरेका कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए।

गएराति झण्डै १० बजेदेखि नै पहिरो खस्न सुरु गरेका कारण पोखराबाट पर्वत हुँदै मुस्ताङ, म्याग्दी र बागलुङ जाने तथा पर्वत हुँदै पोखरा तथा अन्य लामो तथा छोटो दूरीमा जाने सयौँ सवारी साधान रातिदेखि नै बीचैमा अलपत्र परेका छन्।

Loading...