फिफाले इंग्ल्याण्डका समर्थकमाथि छानविन गर्ने
काठमाडौँ । फिफाले इंग्ल्याण्डका समर्थकहरूमाथि छानविन गर्ने भएको छ। मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा इंग्ल्याण्डका समर्थकहरूको व्यवहारमाथि फिपाले छानविन गर्ने भएको हो।

इंग्ल्याण्ड र क्रोएसियाबीचको विश्वकप सेमिफाइनल खेलमा इंग्ल्याण्डका समर्थकहरूको विभेदकारी नारा लगाएको आरोपलागेपछि त्यसमाथि फिफाले छानबिन गर्ने भएको टेलिग्राफले जनाएको छ।

समाचार अनुसार अहिलेसम्म कस्ता गतिविधिमाथि छानबिन गर्ने वा तिनीहरू के सँग सम्बन्धित छन् भन्ने खुलेको छैन। तर, बेलायती समर्थकहरूको विभेदकारी नाराबाजीमाथि छानबिन गर्ने र इंग्ल्याण्ड फुटबल एसोसिएशनविरुद्ध अनुशासन कारबाही गर्ने फिफाले जनाएको छ।

फिफाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘हामी पुष्टि गर्न सक्छौँ कि इंग्ल्याण्डका समर्थकहरूद्वारा सम्भावित विभेदकारी प्रकृतिको नाराबाजीहरूका सम्बन्धमा एन्टी डिस्क्रिमिनेटोरी मोनिटोरिङ सिस्टम (भेदभावविरुद्धको निगरानी प्रणाली) को माध्यमबाट एक रिपोर्ट दायर गरिएको छ।’

फिफाले कस्ता प्रकृतिका नाराबाजी रहेको खुलासा नगरे पनि बुधबार राति भएको सेमिफाइनल खेलमा ‘नो सररेन्डर’ (आत्मसमर्पण गर्दैनौँ) भन्ने नाराबाजी मैदानबाट स्पष्ट सुनिएको थियो। त्यस्तै त्यहाँ मुस्लिम विरोध नारा समेत लागेको बताइएको छ।

बुधबार भएको सेमिफाइनल खेलमा इंग्ल्याण्डलार्इ २-१ गोल अन्तरले पराजित गर्दै क्रोएसिया पहिलोपटक विश्वकप फाइनलमा पुगेको हो।

Loading...