सप्तकोशी नदीमा पानीको बहाव बढ्दै, कोशी व्यारेजका २९ वटा ढोका खोलियो

सुनसरी । पूर्वी तथा पश्चिमी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारणसप्तकोशी नदीमा पानीको बहाव बढेको छ। योसँगै केशी ब्यारेजको ५२ वटा ढोकामध्ये २९ वटा ढोका खुल्ला गरिएको छ ।

शनिबार राति ९:१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर जाने पानीको बहाव दुई लाख १५ हजार ९७० क्युसेक प्रतिसेकेण्ड पुगेपछि केशी ब्यारेजको २९ वटा ढोका खुल्ला गरिएको हो । ब्यारेजमा खतराको संकेतस्वरुप रातो बत्ती बालिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाले जानकारी दिए।

उक्त ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार क्युसेक प्रतिसेकेण्डभन्दा माथि पानीको बहाव भएपछि खतराको बत्ती बालिने गरेपनि सुनसरीमा खतराको अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए।

कोशी ब्यारेज भएर पानी बग्ने क्षमता पाँच लाख क्युसेक प्रतिसेकेण्ड भएकाले दुई लाख क्युसेक पानीको बहाव हुँदैमा आत्तिनुपर्ने अवस्था नरहेको ब्यारेजको ढोका खोल्नका लागि कोशी ब्यारेज कन्ट्रोल रुमलाई निर्देशन दिइएको निरीक्षण पछि उनले बताए।

सप्तकोशी नदीको वहाव आइतबार सम्म अाइपुग्दा यस वर्षकै उच्च मापन भएको छ । कोशी व्यारेजमा रहेको कन्ट्रोल रुमले दिएको जानकारी अनुसार आइतबार बिहान कोशीको बहाव २ लाख २२ हजार ६ सय ३२ क्युसेक प्रतिसेकेण्ड थियो।

शनिबार २३ ढोकामात्र खुलाइएको थियो । पानीको बहाब बढ्न नरोकिएपछि थप ६ वटा ढोका समेत खोलिएको हो।

केही दिन यता तराई क्षेत्रमा भारी वर्षा नभएपनि वागमती पूर्वका अरुण, तमोर, भोटेकोशी, तामाकोशी, दुधकोशी, लिखु, बरुण नदीको मिलेर बनेको पहाडी क्षेत्र कोशी वेसिनमा अत्यधिक बर्षा भएकाले सप्तकोशीमा पानीको बहाव वढेको हो ।

Loading...