मालपोत चोकमा रहेको महमद रहमान मिट सप्लार्यसले खशीको मासु भन्दै बाख्रीको मासु बेच्ने पसल बन्द

चितवन । पछिलो केहि समय मासुमा अनुगमन नहुदा उपभोक्ताहरु अस्वास्थ्य मासु खाना बाध्य भएका थिए । भरतपुर महानगरपालिकामा अव्यबस्थित रुपमा मासु पसल खोल्ने क्रम बढेको छ । भरतपुरमा संचालनमा रहेका अधिकांश बधसाला र मासुपसल संचालनका लागि अयोग्य देखिएका छन्।

भतरपुरमा गरिएको अनुगमनका क्रममा महानगरभित्र संचालन गरिएका बधसाला र मासुपसलले उपभोक्ताको स्वास्थ्यमाथि चरम खेलवाड गरेको पाइएको हो । जिल्ला प्रशासन कार्यालय चितवन, उपभोक्ता अधिकार संरक्षण मन्च र भरतपुर महानगरपालिकाको पशु सेवा शाखाको टोलीले मासुको स्वस्च्छता र गुणस्तरलाई कायम राख्ने शनिबार र आइतबार महानगर भित्रका मासु पसलको अनुगमन गरेको हो।

अनुगमनका क्रममा केही मासु पसलमा खशीको भन्दै बाख्रीको मासु बेचेको फेला परेको छ । बदशाला र मासु राखेको ठाँउ फोहोर युक्त पाइएको छ भने मासु पसलेहरुले डिजिटल तौल मेसिन प्रयोग नगरि उपभोक्तालाई ठगिरहेको भरतपुर महानगरपालिका पशु विकास शाखा अधिकृत डा.सन्तोष घिमिरेले बताए । भरतपुरको मालपोत चोकमा रहेको महमद रहमान मिट सप्लार्यसले खशीको भन्दै बाख्रीको मासु बेच्ने गरेको भेटिएको छ।

अनुगमन टोलीले ३ बटा बाख्री काटिरहेको फेला पारेपछि पसल बन्द गरेको छ । यस्तै लिलाचोकको १० वटा र अन्य क्षेत्रका ८ वटा मासु पसलमा अनुगमन गरिएको छ । अधिकांस मासुपसलले दर्ता प्रकृया, मापदण्ड पुरा गरेका छैनन् भने सरसफाईमा समेत ध्यान दिएका छैनन्।

उपभोक्तको स्वास्थ्य अधिकार माथि खेलवाड गर्नेलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने अधिकारकर्मीको भनाई छ । उपभोक्ता अधिकार संरक्षण मन्चका उपाध्यक्ष विष्णु प्रसाद भुषालले स्वास्थ्यमाथि खेलवाड गर्ने जो कोहीलाई पनि कारवाही गर्नुपर्ने बताए । ऐनमा भएका व्यवस्थाहरु कागजमै सिमित हुँदा उपभोक्ताहरु अस्वस्थकर मासु उपभोग गर्न बाध्य छन्।

जिल्लामा प्रशासन र जिल्ला पशुसेवा कार्यालय तथा स्थानिय तहको पशु विभागको नेतृत्वमा अनुगमन हुने गरेको छ । तर यसको कार्यान्वयन भने शुन्य जस्तै छ । जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख बजार संरक्षण अधिकृत ओम नारायण शर्माले जनशक्ति अभाव, स्रोत साधनको कमीले नियमित अनुगमनको साथै फलोपन गर्न नसक्दा सोँचेजस्तो कारवाही प्रक्रिया अघि बढाउन नसकिएको स्वीकार गरे।

प्रशासनले बजार अनुगमनलाई तिव्रता दिएपछि बजारमा केही सुधारका संकेत देखिएका छन् ।

Loading...