कवितामा प्रधानमन्त्रीः‘मरेपछि पनि सपना देख्ने’ इच्छा

कठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरी डाँडामा पुगेर कविता लेखेका छन्। कवितामै उनले मरे पछि पनि सपना देख्ने इच्छा व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आईतबार चन्द्रागिरी डाँडामा पुगेर ‘मरेपछि पनि सपना देख्न पाउँ’ भन्ने हरफसहितको कविता लेखेका हुन्।

हिमवत कला साहित्य सम्मिलनको अन्तिम दिन कविहरुसँगै केवलकार चढेर चन्द्रागिरी डाँडामा उक्लिएका प्रधानमन्त्री ओली त्यही १० हरफको कविता लेख । विना शीर्षकको कवितामा प्रधानमन्त्री ओलीले ‘चन्द्रागिरी डाँडामा आएर सपनामा भावी सन्तति मुस्कुराएको देख्न पाउँ’ भन्ने कामना समेत गरेका छन्।

भानु जयन्तिको अवसर पारेर मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय हिमवत खण्ड कला साहित्य सम्मिलनको अन्तिम दिन स्रष्टाहरु चन्द्रागिरी सृजना यात्रामा भेला भएका थिए ।

सोही भेलामा प्रधानमन्त्री ओलीले आफूले लेखेको कविता पनि बाचन गरे।सपना देखाउने नेताको छवि समेत बनाएका उनको कविताले ‘मरेपछि पनि सपना देख्ने इच्छा’ व्यक्त गरेको छ।

प्रधानमन्त्री ओलीले कवितामा ‘मरेपनि केही छैन तर जनता मुस्कुराएको हेर्न पाउँ’ भन्ने कामना पनि कविता मार्फत नै गरेका छन्।

प्रधानमन्त्रीले लेखेको कविता यस प्रकार रहेको छ :

परिवर्तनशील दुनियाँमा सधैँ बाँचेको को छ र!

बाँचुञ्जेल हो जिन्दगी मर्नु त छँदै छ।

मरे पनि केही छैन, त्यसपछि पनि सपना देख्न पाउँ

सगरमाथा, लुम्बिनी, मेची, महाकाली

हाम्रा लहलह खेतबारी, झपक्क कान्ला र आली।

सपनामा भए पनि देख्न पाउँ

चन्द्रागिरिको डाँडामा आएर सपनामा भावी सन्तति मुस्कुराएको देख्न पाउँ

तिनको हँसिलो मुहारको तस्बिर खिच्न पाउँ

म मरेपनि केही छैन, त्यसपछि पनि सपना देख्न पाउँ।

Loading...