किसानलाई प्रोत्साहन गर्दै माडी नगरपालिका

चितवन, माडी । माडी नगरपालिकाले पशुपालक किसानलाई प्रोत्साहन अनुदान वितरण गरेको छ । व्यवसायीक रुपमा बाख्रा, गाई भैँसी पाल्दै आएका १ सय ४४ जना किसानलाई अनुदान रकम वितरण गरेको माडी नगरपालिकाका सूचना अधिकारी प्रविण भण्डारीले जानकारी दिए।

उनका अनुसार ५४ लाख ८० हजार रुपैयाँ प्रोत्साहन अनुदान रकम वितरण भएको छ । सोमबार एक कार्यक्रमकाबीच माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकाल र उपमेयर ताराकुमारी काजी महतोले किसानलाई अनुदान रकम हस्तान्तरण गरे ।

व्यवसायीक बाख्रा पालन तर्फ ५ देखि १० माउसम्म पाल्ने ४४ जनालाई २० हजार, ११ भन्दा बढी पाल्ने २६ जनालाई ३० हजार रुपैयाँ अनुदान दिइएको छ । यस्तै गाई, भैँसी पालन तर्फ ३ देखि ५ माउसम्म पाल्ने ४७ जनालाई ४० हजार, ५ देखि १० माउ पाल्ने १९ जनालाई ६० हजार रुपैयाँ अनुदान दिइएको छ।

यस्तै ११ भन्दा बढी पाल्ने प्रति ८ जनालाई १ लाख रुपैयाँका दरले अनुदान दिइएको छ । १ लाख प्रोत्साहन अनुदान पाउने किसानमा माडी–१ का मिश्री महतो, २ का कला भुषाल र श्रीराम ढकाल, ५ का कृष्णबहादुर क्षेत्री, गणेश प्रसाद विक, ६ का कृष्णप्रसाद पौडेल, ७ का राजेन्द्र ओझा र ८ का रुद्रप्रसाद रेग्मी छन्।

नगरपालिकाका पशुपंक्षी शाखाका प्रमुख पशु अधिकृत गोपालकुमार अधिकारीले अनुगमन निरीक्षण मार्फत छनौट गरी अनुदान वितरण गरिएको बताए । माडी नगरपालिका मेयर ठाकुरप्रसाद ढकालले माडीमा व्यवसायी पशुपालनतर्फ आकर्षण बढाउन अनुदानका कार्यक्रमलाई निरन्तरता दिइएको बताए।

“निर्वाहमुखी पशुपालनलाई व्यवसायीकतातर्फ लैजान किसानलाई प्रोत्साहन र सहुलियत आवश्यक पर्छ”, उनले भने, “किसानमैत्री कार्यक्रमलाई महत्व दिदै आएका छौँ । आगामी वर्ष कृषि क्षेत्रमा प्रयाप्त बजेटको व्यवस्था गरेका छौँ ।” उनले दोस्रो नगरसभाबाट आगामी वर्षदेखि दूध उत्पादनमा प्रतिलिटर ३ रुपैयाँ अनुदान दिइने निर्णय भएको जानकारी दिए । कार्यक्रम माडी नगरपालिकाका सहकारी तथा कृषि समिति संयोजक तथा वडाध्यक्ष इश्वरीप्रसाद ढकालको अध्यक्षतामा भएको हो ।

Loading...