दुधको मूल्य घटाएको भन्दै पशुपालक किसानको विरोध

चितवन । चितवनका पशुपालक किसानहरुले दूधको मूल्य घटाएको भन्दै विरोध जनाएका छन् । चितवनको राप्ती नगरपालिकाका किसानले दूधको मूल्य घटाएको भन्दै पूर्वपश्चिम राजमार्गको भण्डारामा दूध पोखेर विरोध गरेका हुन् ।

नेपाल सरकारको स्वामित्वमा रहेको डीडीसीले असार १५ गतेबाट दूधको मूल्यमा ३ रुपैया घटाएको किसानहरुले बताएका छन् । यसअघि जेठ १६ गते निजी डेरी उद्योगहरुले २ रुपैया ३७ पैसा मूल्य घटाएका थिए ।

अहिले डीडीसीले मूल्य घटाएकोलाई आधार देखाउदै फेरि निजी डेरी उद्योगहरुले श्रावण १ गतेदेखि दूधको मूल्यमा ३ रुपैया घटाएको राप्ती नगरस्तरिय दुग्ध उत्पादक सहकारी संस्था समन्वय समितिका संयोजक डिल्लीप्रसाद थपलियाले बताउनुभयो ।

पटक पटक गरी दूधको मूल्य घटाइदै गएपछि किसानहरु अहिले आक्रोशित भएका छन् ।सामान्यता किसानहरुले १ लिटर दूध उत्पादक गर्दा करिब ५५ रुपैया प्रति लिटर लागत पर्ने तर अहिलेको मूल्य अनुसार १ लिटर दूध ४५ रुपैयँमा बिक्री गर्नुपर्ने अवस्था आएको परेवाश्वरी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष रामेश्वरसिंह ओलीले बताउनुभयो ।

सरकारले दाना , चोकर , औषधिलगायतको मूल्य नियन्त्रण गर्न नसकेको र व्यवसायीहरुले मनलाग्दी मूल्य वृद्धि गरिरहेको तर किसानले उत्पादन गरेको दूधको मूल्य भने पटकपटक घटाएको भन्दै पशुपालक किसान सुधिर गौतमले आक्रोश व्यक्त गरे । किसानहरुले दूधको मूल्य वृद्धि नगरिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

विदेशबाट आयातित कम गुणस्तरको पाउडर दूधको कारणले यहाको स्वच्छ दूधको मूल्य घटाइएको भन्दै कुनै पनि हालतमा दूधको मूल्य घट्न दिन नहुने केन्द्री दुग्ध उत्पादक सहकारी संघका केन्द्री सदस्य बालकृष्ण उप्रेतीले बताउनुभयो ।दूधको मूल्य घटाउदै मिल्क होलिडेको स्थिति ल्याउने प्रयास भइरहेको उप्रेतीले दाबी गरे ।

चितवनमा दैनिक करिब चार लाख ७० हजार लिटर दूध उत्पादन हुदै आएको छ । त्यसमध्य करिब दुई लाख ५० हजार लिटर दूध काठमाण्डौ , पोखरा , हेटौडालगायतका शहरमा जाने गरेको छ ।

Loading...