ढलान भएको चार दिनमै भत्कियो पुल

डडेल्धुरा । जिल्लाको भागेश्वर गाउँपालिका–४, डुङ्गरी र अजयमेरु गाउँपालिका–५ को देवल दिव्यपुर जोड्न सेरागडमा निर्माणाधीन मोटरेबल पुल भत्किएको छ ।

चार दिन पहिले मात्रै ढलान गरिएको पक्की पुल बुधबार बेलुकीदेखिको अविरल वर्षाले भत्केको हो ।

डिभिजन सडक कार्यालय कुलपाते, दीपायलले पुल निर्माणका लागि ०७२ भदौ २४ गते बिकोई बिल्र्डस प्रा.लिसँग ठेक्का सम्झौता भएको थियो ।

भ्याटसहित कूल ५ करोड एक लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीलाई पुल निर्माण कार्य सम्पन्न गर्न दुई वर्षको समयावधि तोकिएको थियो । ०७४ भदौ २४ गते ठेक्का अवधि सकिएपछि ०७५ भदौ ९ गतेसम्म काम सक्ने गरी म्याद थप गरिएको डिभिजन सडक कार्यालय कुलपाते, डोटीले जनाएको छ ।

४० मिटर लम्बाई र ११ मिटर चौडा पुल समयमै निर्माण हुन नसक्दा स्थानीयले सास्ती खेप्नु परिरहेको छ ।

Loading...