होटलभन्दा राम्रो हिरासत

काठमाडौँ । सल्यान प्रहरीले होटलभन्दा राम्रो हिरासत बनाएको छ । सदरमुकाम खलंगामा बनाइएको हिरासत कक्षमा सफा र चिटिक्क परेका बेड, सफा ओढ्ने ओछ्याउने, झ्यालको व्यवस्था र कैदीबन्दीलाई पत्रिकाहरु पढ्ने व्यवस्था गरिएको छ । हरेक कैदी बन्दीलाई छुट्टा छुट्टै बेडको व्यवस्था छ ।

यसअघि हिरासतमा महिला र पुरुषका लागि दुई वटा मात्र कोठा थिए । त्यहाँ कम्तिमा २५ जनालाई कोचेर राख्ने गरिएको थियो । कोठाभित्रै पिसाब फेर्नुपर्थ्यो । अँध्यारो कोठा भएकाले दिउँसै बत्ति बाल्नुपर्ने अवस्था थियो भने ओढ्ने ओछ्याउने पनि मुस्किलले पुग्थ्यो ।

सल्यान प्रहरी प्रमुख डिएसपी भरतबहादुर विकले नयाँ पत्रिकासँग भनेका छन्, ‘मानवअधिकारका दृष्टिकोणले उपयुक्त हिरासत बनाएका छौं ।’

हिरासत अवलोकन गरेपछि प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले आधुनिक हिरासतलाई दीगो बनाउनुपर्ने बताएका छन् ।

Loading...