चितवनमा ८५ प्रतिशत रोपाईँ

चितवन । चितवनमा हालसम्म ८५ प्रतिशत धान रोपाइ सम्पन्न भएको छ । जिल्ला कृषि विकास कार्यालय चितवनले दिएको जानकारी अनुसार जिल्लामा सिंचाइ सुविधा नभएको स्थान बाहेकका क्षेत्रमा रोपाइ सम्पन्न भएको छ ।

कार्यालयका अनुसार पश्चिम चितवनमा सिंचाई नभएका क्षेत्रमा धान रोप्न बाकी रहेको छ । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने भरतपुर महानगरपालिका भित्र २५ प्रतिशत , कालिका र इच्छाकामना गाउपालिकाका पनि केही क्षेत्रमा धान रोपाइ हुन बँकी रहेको छ । केही दिन यता आकाशे पानी राम्रोसग परेकाले धान रोप्न बाकी रहेका ठाउहरुमा पनि छिट्टै रोपाईं हुने कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत सुधिर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले एकसाता भित्र चितवनमा धान रोपाइ सकिने बताउनुभयो । चितवनमा यस वर्ष अधिकांश किसानले सावित्री, राधा ४, सावा मन्सुलीलगायतका धान रोपेका छन् । जिल्लामा किसान माझ लोकप्रिय रहेको सावित्री धान करिब ३५ प्रतिशत क्षेत्रफलमा रोपिएको श्रेष्ठले बताउनुभयो ।

चितवनमा यसवर्ष २९ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइ हुने जिल्ला कृषि कार्यालयले जनाएको छ । अघिल्लो वर्ष चितवनमा २९ हजार १०० हेक्टर क्षेत्रफल धान रोपाइ भएको थियो । जिल्लामा वार्षिक १ लाख मेट्रिक्टन धान उत्पादन हुदै आएको छ । पछिल्लो पँच वर्षमा पाच सय हेक्टर धान खेती हुने जमिन घटेको कार्यालयको तथ्याङ्कमा छ ।

माछापालन, केराखेती र प्लटिङका कारण चितवनमा बर्षेनी धान रोपाइको क्षेत्रफल घटिरहेको छ । जिल्लाको पूर्वी क्षेत्रअन्तर्गत पर्ने बछौली, कठार, कुमरोज, खैरहनी लगायतको क्षेत्र धान खेतीको लागी पकेट क्षेत्र मानिन्छ ।

Loading...