बामदेवलाई डोल्पामा रेडकार्डः आफ्नै क्षेत्रमा अस्वीकृतलाई डोल्पाले स्वागत गर्दैन

काठमाडौँ । डोल्पाका युवाहरुले आफ्ना सांसद धनबहादुर बुढालाई पदबाट राजीनामा गराउने खेल भईरहेको भन्दै आपत्ति जनाएका छन ।

डोल्पाका युवाहरुले सांसद बुढालाई राजीनामा दिन लगाएर सो निर्वाचन क्षेत्रबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता बामदेव गौतमलाई उपनिर्वाचनमार्फत् ल्याउने षडयन्त्र भईरहेको दावी गर्दै आपत्ति जनाएका हुनु ।

उनीहरुले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सांसद बुढाले डोल्पाली जनताको विश्वास जितेको र उहाँलाई पाँच वर्षसम्म काम गर्न दिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेतृत्वको ध्यानाकर्षण पनि गराएका छन । केही दिनयता संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री समेत रहनु भएका बुढालाई राजीनामा दिन लगाएर वरिष्ठ नेता गौतमलाई उपनिर्वाचनमार्फत् डोल्पाबाट सांसद बनाउने चर्चा विभिन्न समाचार माध्याममा आएको थियो ।

त्यसो गरिए मान्य नहुने डोल्पाका युवाहरुको चेतावनी छ । उनीहरुले निर्वाचनमा हार खाएका वरिष्ठ नेता गौतमलाई सांसद बनाए त्यो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का लागि इतिहासको सबैभन्दा ठूलो कलंक हुने तर्क समेत गरेका छन । जनताको आशा र भरोसाका रुपमा रहेका बुढालाई राजीनामा दिन कुनै पनि हिसावले नमिल्ने भएकाले त्यसो नगर्न नेपाल कम्युनिष्ट पार्टीलाई सचेत गराउनु परेको डोल्पाका युवा राजीव शाहीले जानकारी दिनु भयो ।

उनीहरुले डोल्पालाई केन्द्रीय नेताहरुले प्रयोगशाला बनाउन लागेको भन्दै कसैको प्रयोगशाला बन्न नदिने चेतावनी दिए। उनीहरुले आफ्नै निर्वाचन क्षेत्रबाट पराजित गौतमलाई डोल्पाले स्वागत नगर्ने समेत बताए।

डोल्पाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद बुढाले निर्वाचनमा अत्याधिक मत पाएका थिए । स्थानीयले बुढा पाँच वर्षका लागि आफ्नो प्रतिनिधि भएकाले कसैले पनि बीचमा राजीनामा नगराउन नमिल्ने तर्क पनि गरेका छन ।

Loading...