अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललार्इ ठूलो सफलताः अोडिअार्इमा पहिलो जित

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले ठूलो सफलता हात पारेको छ। नेपालले वान डे इन्टरनेशनल क्रिकेट (ओडिआई) मा नेदरल्याण्डमाथि एक रनको जित हात पार्दै पहिलो जित दर्ता गरेको हो।

नेपालको पहिलो ऐतिहसिक ओडिआई सिरिजमा नेदरल्याण्डसँग १-१ को बराबरी गरेको छ। पहिलो खेलमा हार व्यहोरेको नेपालले दोस्रो खेलमा नेदरल्याण्ड्सलाई १ रनले पराजित गर्दै पहिलो अोडीअार्इ सिरिजमा बराबरी खेलेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाएर २१६ रन बनाएको थियो। जवाफमा २१७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ५० अोभरमा सबै विकेट गुमाउँदै २१५ रन जोड्यो। नेपालका लागि अन्तिम वलमा कप्तान पारस खड्काले अन्तिम विकेट अाफैले फालेको वलमा अाफैले रनअाउट गरे।

डच टोलीलाई अलआउट गर्ने क्रममा सन्दीप लामिछानेले ३ विकेट लिए। ललित भण्डारीले २ विकेट लिए। सोमपाल कामी, पारस खड्का, बसन्त रेग्मी र दीपेन्द्र ऐरीले १-१ विकेट लिए।

नेदरल्याण्ड्सका लागि वेस्ली बारेसीले सर्वाधिक ७१ रन बनाएका थिए।

नेपालका लागि कप्तान पारस खड्का र सोमपाल कामीको अर्ध शतकको मद्दतमा नेपालले पहिले ब्याटिङ गर्दै ४८.५ ओभरमा सबै विकेट गुमाएर २ सय १६ रन बनाएको थियो।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ६१ रन बनाए। ४६ बल खेलेका सोमपालले ५ चौका र ३ छक्का प्रहार गरे। यस्तै कप्तान पारस खड्काले ६९ बल खेल्दै ६ चौका र २ छक्काको मद्दतले ५१ रन बनाए।

नेपालका लागि सुवास खकुरेल र दीपेन्द्र सिंह ऐरीले १९-१९ रन बनाए भने आरिफ शेखले १६ तथा ज्ञानेन्द्र मल्ले १३ रन जोडे।

सोमपाल कामीले सन्दीप लामिछानेसँग नवौं विकेटका लागि ४१ रनको साझेदारी गरे।

नेदरल्याण्ड्सका लागि फ्रेड क्लासेनले ३ तथा पिटर सिलर र माइकल रिप्पोनले २-२ विकेट लिए।

Loading...