रजहरको प्राकृति चिकित्सालयले चिकित्सा तथा योग विज्ञानको अध्ययन गराउने

नवलपुर । नवलपुरको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयले प्राकृतिक चिकित्सा र योग विषयमा कक्षा सञ्चालन गर्ने भएको छ।

नेपालमै पहिलो पटक प्राकृतिक चिकित्सा र योग विषयमा ३ वर्षे डिप्लोमा कोर्ष र साढे ५ वर्षे प्राकृतिक चिकित्सक विषयको कक्षा सञ्चालन गर्ने योजना बनाएको हो । जसअन्तर्गत पहिलो चरणमा यसै वर्षबाट ३ वर्षे डिप्लोमा कोर्षका लागि सिटीइभिटीबाट सम्बन्धन लिइसकेकाले अध्यापन गराइने तयारी गरिएको सामुदायिक प्राकृतिक चिकित्सालयका व्यवस्थापक हरिप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

२०७५ चैत महिनाबाट कक्षा सञ्चालनका लागि ४० जना विद्यार्थीलाई ३ वर्षे डिप्लोमा तहको प्राकृतिक चिकित्सा र योगसम्बन्धी अध्यापन गराइने तयारी गरिएको छ । त्यसका लागि पाठ्यक्रम समेत तयार भइसकेको चिकित्सालयले जनाएको छ ।

स्नातक तहको कार्यक्रम सञ्चालनसँगै नेपाल संस्कृत विश्वविद्यालयसँग सम्बन्धन लिएर प्राकृतिक चिकित्सासम्बन्धी मेडिकल कलेज सञ्चालनको समेत प्रक्रिया अघि बढाइने चिकित्सालयका अध्यक्ष सन्तबहादुर क्षेत्रीले बताउनुभयो ।

यस अगावै राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले आयुर्वेद, प्राकृतिक चिकित्सा र योग विज्ञान विषयको पाठ्यक्रम विकासका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको थियो ।

Loading...