अन्ततः धुर्मुस-सुन्तली फाउन्डेशनले अन्तर्राष्ट्रिय रंगशाला चितवनमा बनाउने

चितवन । धुर्मुस-सुन्तली फाउन्डेशनले बनाउने भनेको अन्तर्राष्ट्रिय क्रिकेट मैदान चितवनमा बन्ने भएको छ। धेरै स्थानमा रंगशाला निर्माणका लागि जग्गाको अध्ययन गरेको फाउन्डेशनले सबै मुल्यांकनपछि चितवनमा रंगशाला निर्माण गर्ने निष्कर्ष निकालेको हो।

यसअघि फाउन्डेशनले ललितपुरको गोदावरीमा रहेको जग्गा छनोट गरी खेलकुद मन्त्रालयमा प्रस्तावसमेत पठाइएको थियो । तर, प्राविधिक टोलीले जग्गा अनुपयुक्त भएको ठहर गरेपछि फाउन्डेशन चितवन अाएको हो।

यहाँको रामपुरस्थित कृषि तथा वनविज्ञान परिसरमा रहेको जग्गामा रंगशाला निर्माण गर्ने तयारी भएको छ। यसका लागि केही दिनभित्रै धुर्मुस-सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौता हुने तयारीमा छ। मेयर रेणु दाहालका अनुसार महानगर अहिले सो जग्गा प्राप्तिको लागि आवश्यक प्रक्रियामा रहेको छ ।

दाहालका अनुसार त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको रामपुर क्याम्पसको जग्गा महानगरपालिकाले रंगशाला निर्माणका लागि लिन लागेको हो । सट्टाभर्नामा क्याम्पसलाई अर्को जग्गा दिने महानगरपालिकाको योजना छ ।

करिब २५ विघा प्रस्तावित जग्गा रंगशाला निर्माणका लागि सबै हिसाबले उपयुक्त रहेको फाउन्डेसनले पनि ठहर गरेको छ ।

फाउन्डेसनको प्राविधिक टोली त्यहाँ पुगेर जग्गाको प्राविधिक पक्ष विश्लेषण गरेको थियो । रंगशाला निर्माण नेपाल सरकार, भरतपुर महानगरपालिका र धुर्मुस-सुन्तली फाउन्डेसनको त्रिपक्षीय समन्वयमा सम्पन्न हुने मेयर दाहालले जानकारी दिइन्।

फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले भने जग्गा प्राप्ति हुनासाथ रंगशाला निर्माण सुरु गर्न आफूहरु तयारी अवस्थामा रहेको बताए ।

Loading...