रूसमाथि नयाँ प्रतिवन्ध थप्दै अमेरिका

काठमाडौँ । अमेरिकाले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने तयारी गरेको छ । बेलायतमा बस्दै आएका रुसी पूर्व गुप्तचर एजेन्टलाई विष दिएको पुष्टि भएको भन्दै अमेरिकाले नयाँ प्रतिबन्ध लगाउने तयारी गरेको हो।

गएको मार्चमा बेलायतको साल्स्बरीमा सर्गेई स्क्रिपल र उनकी छोरी युलिया अचेत अवस्थामा बेन्चमा भेटिएका थिए । सर्गेई रुसका पूर्व गुप्तचर एजेन्ट हुन् । विषालु आक्रमणका कारण बुवा–छोरी गम्भीर बिरामी परेका थिए । लामो अस्पताल बसाईपछि दुवैजनालाई निको भयो ।

बेलायतले गरेको एक अनुसन्धानमा उनीहरुमाथि विषालु आक्रमण रुसले गरेको बताएको छ । तर रुसले भने सर्गेई र उनीक छोरीमाथि भएको विषालु आक्रमणमा आफ्नो कुनै संलग्नता नरहेको बताउँदै आएको छ ।

अमेरिकाले पनि रुसमाथि आक्रमणको आरोप लगाउँदै आएको छ । अमेरिकाको विदेश विभागले जारी गरेको वक्तव्यमा रुसमाथि घटनामा सम्बन्धित भएर नयाँ प्रतिबन्ध लगाउने तयारी भएको पुष्टि गरेको हो ।

रसायनिक वा बायोलोजिकल हतियार प्रयोग गर्नु अन्तर्राष्ट्रिय कानुनको उल्लंघन रहेको अमेरिकी विदेश विभागले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।

रुसले आफ्नै नागरिकमाथि हानिकारक रसायन वा बायोलोजिकल हतियार प्रयोग गरेको देखिएको अमेरिकाको भनाई छ । बेलायत सरकारले अमेरिकाको कदमको स्वागत गरेको छ ।

अमेरिकाको रुसमाथि संवेशनशील इलेक्ट्रोनिक सामान तथा अरु प्रविधिजन्य सामग्रीको निर्यातमा प्रतिबन्ध लगाउने भएको हो । यो प्रतिबन्ध अगस्टको २२ भित्र प्रभावकारी हुनेछ ।

Loading...