निःशूल्क नृत्य शिक्षण कक्षा सम्पन्न

चितवन । नारायणी कला मन्दिरले सञ्चालन गरेको निस्शूल्क नृत्य प्रशिक्षण कक्षामा भरतपुरको चितवन इङ्गलिस बोर्डिङ्ग स्कूल प्रथम भएको छ ।

आदिकवि भानुभक्त मा.वि. र नारायणी नमूना मा.वि.ले क्रमशः द्वितीय र तृतीय स्थान प्राप्त गरेका छन् । १५ दिनसम्म चलेको प्रशिक्षणको समापन समारोहमा सहभागी विद्यालहरूमध्येबाट विजयी समूह चुनिएका हुन् ।

समापन समारोहमा बोल्दै प्रमुख अतिथि तथा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले छोटो समयमै राम्रो प्रदर्शन गर्नु विद्यार्थीहरूका लागि ठूलो उपलब्धि रहेको बताउनुभयो । विद्यार्थी जीवनमा अतिरिक्त क्रियाकलापको पनि जानकारी हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नारायणी कला मन्दिर र उद्योग वाणिज्य संघ एक अर्काका परिपूरक रहेको उल्लेख गर्दै उहाँले आगामी पुस २५ देखि माघ ४ गतेसम्म चल्ने चितवन महोत्सवमा कला मन्दिरले सांस्कृतिक कार्यक्रममार्फत सहयोग गर्नेमा आफू विस्वस्त रहेको बताउनुभयो ।

सोही क्रममा बोल्दै नारायणी कला मन्दिरका अध्यक्ष अमरदेव प्रधानले प्रशिक्षण कक्षामा विद्यार्थीहरूको प्रस्तुति उत्साहजनक रहेको स्मरण गर्दै कला, साहित्य र संस्कृतिको उत्थानका लागि नारायणी कला मन्दिर तत्पर रहेको बताउनुभयो । १५ दिनसम्म चलेको कक्षामा भरतपुरका विभिन्न ६ विद्यालयका ६० जना विद्यार्थीहरू सहभागी थिए ।

Loading...