प्राकृतिक स्रोत तथा वित्तिय आयोग तत्काल गठन गर्न सांसदको माग

काठमाडौँ । सांसदहरुले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तिय आयोग तत्काल गठन गर्न सरकारसँग माग गरेका छन ।

सांसदहरुले विकास प्रक्रिया अवरुद्ध भएको उल्लेख गर्दै सार्वजनिक खरिद ऐन संशोधन गर्न ढिलाई नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । अर्थ समितिको आईतबारको बैठकमा बोल्दै सांसद डा. बाबुराम भट्टराईले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तिय आयोग तत्काल गठन गर्न सरकारसँग माग गर्नु भएको हो ।

उहाँले आर्थिक क्षेत्रको कार्यान्वयनका लागि मुख्य निकाय आयोग भएको उल्लेख गर्दै त्यसको गठनमा ढिलाई गर्न नहुनेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । पूर्व प्रधानमन्त्री समेत रहनु भएका डा. भट्टराईले आयोग गठन नभएकै कारण संघीयता कार्यान्वयनको काम अस्तव्यस्त हुने अवस्था रहेको तर्क पनि गर्नु भयो ।

बैठकमा बोल्दै सांसद महेश बस्नेतले सार्वजनिक खरिद ऐन संशोधन गर्न ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले आर्थिक वर्ष असारको मसान्त नभई चैत्रको मसान्ततिरसार्न उपयुक्त हुने सुझाव पनि सरकारलाई दिनु भयो ।

समितिको बैठकमा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले असारको अन्तिममा आएर बजेट खर्च गर्ने परिपाटी अन्त्यका लागि सरकारले बजेट कार्यान्वयन कार्यतालिका बनाएर कामलाई अघि बढाएको स्पष्टिकरण दिनु भएको थियो । उहाँले राजस्व असुली बढाउन सरकारले करको दायरा बढाउने र राजस्व चुहावट नियन्त्रणको नीति लिएको पनि समितिलाई जानकारी गराउनु भयो ।

अर्थमन्त्री खतिवडाले संघीयता कार्यान्वयनका लागि विश्व बैंक र एशीयाली विकास बैंकले पनि आवश्यक रकम उपलब्ध गराउने विश्वास व्यक्त गर्नु भयो ।

Loading...