हत्या अभियोग लागेका राज्यमन्त्री तारेखमा छुटे

काठमाडौँ । हत्या अभियोगमा प्रहरीको फरार सूचीमा रहेका प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा साधरण तारेखमा छुटेका छन्। सोमबार मात्र उनले जिल्ला अदालत महोत्तरीमा अात्मसमर्पण गरेका थिए।

सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको हत्या आरोपमा उनलार्इ अदालतले पक्राउ गर्न अादेश दिएको थियो।

सोमबार महोत्तरी जिल्ला अदालतमा आत्मसमर्पण गरेका राज्यमन्त्री शर्माको बयान झन्डै ३ घण्टा लगाएर लिइएको थियो । ११ बजेदेखि लिइएको बयान २ बजे सकिएको थियो । बयान सकिएलगत्तै जिल्ला न्यायाधीश ब्रजेस प्याकुरेलको इजलासमा थुनछेकको बहस भएको थियो ।

मधेस आन्दोलन चलिरहँदा आन्दोलनकारीको आक्रमणमा परेर गम्भीर बनेका विकलाई उपचारका लागि जनकपुर ल्याउने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । विकको हत्या अभियोगमा आरोपी बनाइएका २८ जनामध्ये राज्यमन्त्री शर्मा, नगरप्रमुख जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र (शंकर शाही), महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४(क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित कौशल रायलाई पनि आरोपी बनाइएको छ । मिश्र र सांसद रायसहित सबै फरारलाई पक्राउ गर्न उच्च अदालतले परमादेश जारी गरेको थियो ।

विक हत्याका २८ जना आरोपीमध्ये महोत्तरीका सञ्जय साह र प्रदीप साह पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । अर्का आरोपी मोहन ठाकुर तारेखमा छन् ।

असई विकको हत्यामा संलग्न २८ जनाको नामै किटेर उनका दाजु प्रेमबहादुर विकले १ असोज २०७२ मा जिल्ला प्रहरी कार्यालय, महोत्तरीमा जाहेरी दिएका थिए । त्यही जाहेरीका आधारमा जिल्ला अदालत महोत्तरीले २७ फागुन २०७२ मा बयानका लागि इजलाससमक्ष पेस गर्न र फरार रहेका प्रतिवादीको हकमा वारेन्टको ७० दिने म्यादी पुर्जी जारी गरेको थियो ।

फरार आरोपीलाई पक्राउ गर्न वारेन्ट जारी गरेको ७० दिनसम्म पनि महोत्तरी प्रहरीले आलटाल गरेपछि असई विककी श्रीमती शोभा गहतराजले २८ चैत २०७४ मा परमादेशका लागि उच्च अदालत जनकपुरमा रिट दायर गरेकी थिइन् । उनको रिटमा जिल्ला प्रहरी कार्यालय महोत्तरी र कार्यालयका प्रमुखलाई विपक्षी बनाइएको थियो ।

राज्यमन्त्री शर्माविरुद्ध एम्बुलेन्स तोडफोड तथा आगजनी मुद्दासमेत लागेको थियो । सो मुद्दामा प्रहरीले शर्माको घरमा ७० दिने म्याद पुर्जीको सूचनासमेत टाँस गरेको थियो ।

राज्यमन्त्री शर्मा र प्रमुख मिश्र राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएका हुन् । राय संघीय समाजवादी फोरमका नेता हुन् । असई विक हत्यामा २८ जनालाई आरोपी बनाइएको छ । जसमध्ये अधिकांश प्रहरीको सूचीमा फरार देखिन्छन् ।

शर्मासँग महोत्तरी जिल्ला अदालतले करिब २२ वटा प्रश्नमा बयान लिएको शर्माका तर्फबाट बहस गरेका कानुन व्यवसायी रामनरेश पाण्डेले बताए ।

घटना भएको दिन २५ भदौ २०७२ मा ‘तपाईं कहाँ हुनुहुन्थ्यो ?’ भन्ने सवालमा उनले आफ्नो ससुराको शारीरिक अवस्था ठीक नभएकाले उपचारको सिलसिलामा ससुराली घर महोत्तरीको पिपरामा भएको र त्यसको भोलिपल्ट बिहान मात्र जलेश्वर फर्किएको बयान शर्माले अदालतमा दिएका छन् । घटनामा आरोपी बनाइएका अन्य प्रतिवादीलाई पनि आफूले चिन्ने जवाफ उनले दिएका छन् । तत्कालीन समयमा मधेस आन्दोलन भएको बेला आफू तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को महोत्तरी अध्यक्षसमेत भएकाले आरोपितमध्ये धेरै जना राजनीतिकर्मी भएकाले पनि चिनेको जवाफ उनले दिएका छन् । आफूहरूको आन्दोलन शान्तिपूर्ण रहेको समेत उनले बताएका छन् ।

अदालतले शर्मालाई थमन विकको हत्या गरिरहेको क्रमका तस्बिर पनि देखाउँदै ती मानिसलाई चिन्नुभएको छ वा छैन भन्ने सवालमा शर्माले ‘भन्न सकिन्न’ भन्दै जवाफ दिएको जनाइएको छ ।

थुनछेकमा राज्यमन्त्री शर्माका तर्फबाट कानुन व्यवसायी ज्ञानेन्द्रलाल कर्ण, रमेश पाण्डे र देवेन्द्र ठाकुरले बहस गरेका थिए । उच्च अदालत जनकपुरले १५ साउनमा असई थमन विकको हत्या आरोपीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई परमादेश जारी गरेको १३ दिनपछि राज्यमन्त्री शर्माले अदालतसमक्ष आत्मसमर्पण गरेका हुन् । राज्यमन्त्री शर्मा सोमबार करिब १० बजे अंगरक्षक सशस्त्र प्रहरीका हबल्दार र कानुन व्यवसायीसहित अदालत पुगेका थिए ।

राज्यमन्त्री शर्माको विपक्षमा सरकारी वकिल सुदीप दंगालले बहस गरेका छन् ।

Loading...