भासिँदै नारायणगढ–मुग्लिन सडक

चितवन । नारायणगढ मुग्लिन सडकखण्डको १७ किलोमा सडक भासिने क्रम जारी रहेको छ । एक महिनादेखि विस्तारै भासिन शुरु गरेकामा हालसम्म आइपुग्दा १ दशमलब ५ मिटर सडक भासिएको छ ।

नारायणगढ मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सो ठाउमा नौ मिटर सडक चौडा छ जसमध्ये पाच मिटर भाग भासिएको छ । चार मिटरबाट एकतर्फी रुपमा सवारी चलेका छन् । चालीस मिटर लामो भागमा सडक भासिएको हो । सो ठाउमा विसं २०६० मा सडक भासिएपछि रक स्वायल एङ्करिङ गरिएको थियो । विज्ञले भासिएको ठाउको निरीक्षण गरी वर्षात्को समयमा नचलाउन सुझाव दिएका छन् ।

उनीहरुले वर्षातमा चलाउदा बाटो पूरै बन्द हुनसक्ने भन्दै हिउद लागेपछि के गर्ने टुंगोमा पुग्नुपर्ने बताएका छन् । खनालका अनुसार सडक बढी भासिएमा तत्काल भित्तो काट्ने विकल्प राखिएको छ । दैनिक सडक भासिने क्रम बढ्दै गएको खनालले जानकारी दिनुभयो ।

भिजन सडक कार्यालय भरतपुरका तत्कालीन इञ्जिनियर प्रकाश उपाध्यायले सोही क्षेत्रमा त्यतिबेला सडक भासिएर रक स्वायल एङ्करिङ गरिएको बताउनुभयो । भित्तोमा घुसाएर १० १५ मिटर फलामे डण्डी घुसाएर रडसंगै सिमेन्ट जमाउने र बाहिरी भाग पनि ढलान गरी बलियो बनाउने कामलाई रक स्वायल एङ्करिङ भनिन्छ । सोही ठाउँको रक एङ्करिङले काम गर्न छोडेर वा नदीले खोलेर धसिएको हुनसक्ने अनुमान गरिएको छ ।

हाल सो सडक विस्तारको अन्तिम चरणमा पुगेको छ । सडक भासिएको ठाउ नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ पर्दछ । सोही सडक हुदै दैनिक करिब १० हजार सवारीसाधन आवातजावत गर्दछन् ।

Loading...