जमिन बाँझो राख्नेलाई कारवाही

चितवन । रत्ननगर नगरपालिकाले बाँझो जमिन राख्नेलाई कारबाही गर्न थालेको छ । उत्पादनमूलक जग्गालाई बाझो राखेर छाड्नेलाई नगरसभाबाटै निर्णय गरी जरिवाना लिन थालिएको नगर प्रमुख नारायण वनले जानकारी दिनुभयो ।

उहाँका अनुसार विभिन्न वडामा बाझो जमीन राख्नेविरुद्ध गरिएको कारबाहीबाट अहिलेसम्म रु एक लाख ३६ हजार राजश्व सङ्कलन भएको छ । नगरपालिकाले बाँझो जमीन राखेको पाइएमा प्रतिकठ्ठा रु ५०० का दरले जरिवाना लिने गरेको छ ।

धेरैजसो क्षेत्रमा जग्गा प्लटिङ रहेको र अन्य व्यक्तिले खाली जमीन राखेका भए उनीहरूसमेत कारबाहीमा पर्ने नगरप्रमुख वनले बताउनुभयो । जग्गा खाली नहोस् भन्ने नगरको उद्देश्य रहेको उहाँको भनाइ छ । नगरपालिकाले अहिले यहाँ जग्गा प्लटिङसमेत रोकेको उहाँले बताउनुभयो ।

सबैभन्दा बढी वडा नं १४ मा जग्गा खाली रहेको जानकारी दिदै वडाध्यक्ष हरिकुमार श्रेष्ठले कारबाही थालेपछि केही जग्गाधनी सचेत हुन थालेको बताउनुभयो । बाझो जमीनलाई खेती गर्न दिने विषयमा छलफल चलाइए पनि फेरि जग्गाको स्वामित्वमा समस्या पर्ने भएकाले जग्गावाला डराएको नगरपालिकाको भनाइ छ ।

उक्त नगरपालिकाले यहाको सरकारी जग्गाको संरक्षण अभियानसमेत अगाडि बढाएको जग्गा संरक्षण समितिका संयोजक हरिकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म करीब ३० विगा सार्वजनिक जग्गा खोजी गरी संरक्षण गरिएको छ ।

ठाउठाउमा भने जग्गामा विवाद भएकाले निकास निस्कन सकेको छैन । उक्त अभियानलाई निरन्तर अघि बढाइने नगरप्रमुख वनले उल्लेख गर्नुभयो ।

Loading...