चितवनमा थियटर निर्माणका लागि ‘बहुलाहा काजीको सपना’

चितवन । चितवनमा थियटर निर्माणको लागि कर्मी नाट्य समूहले अर्को नाटक मञ्चन गर्ने तयारी थालेको छ । साउन दोस्रो हप्ताबाट नाटकको लागि कार्यशाला सञ्चालन गरिने शनिबार नारायणगढमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

थियटर निर्माण गर्ने मात्रै नभई नयाँ कलाकार उत्पादनको लागि पनि समूहले नाटकलाई निरन्तरता दिने प्रयास गरिएको समूहका अध्यक्ष भीम राईले जानकारी दिनुभयो । नेपाली रंगमञ्चमार्फत चितवनको परिचय थप बढाउनको लागि पनि नाटकमार्फत प्रस्तुत हुन खोजिएको उहाँले बताउनुभयो ।

करिब एक महिनाको कार्यशालापछि बिजय मल्लको बहुलाकाजीको सपना नाटक मञ्चन गर्ने तयारी भइरहेको समूहका सचिव प्रदीप अञ्जानले जानकारी दिनुभयो । यसअघि समूहले गतवर्ष कथाकार रामलाल जोशीको कथा संग्रह ऐनाभित्रको एउटा कथा श्रीमान् वीरबहादुरलाई नाट्य रूपान्तरण गरेर मञ्चन गरेको थियो ।

त्यसैलाई निरन्तरता दिदै फेरि अर्को नाटकको लागि तयारीमा जुटेको समूहले जनाएको छ । नाट्य क्षेत्रमा काम गर्न चाहने जोकसैले चितवनबाटै प्रशिक्षण लिन पाउने हुदा नयाँ पुस्ताको लागि अवसर सावित हुने समूहका सल्लाहकार मुकुन्द खलपात्रले बताउनुभयो ।

Loading...