निर्मला पन्तको हत्यामा संलग्नलाई कडा कारवाही हुन्छ– प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कडा कार्वाही गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले किशोरी पन्तको हत्याका सम्बन्धमा गहिरो गरी छानवीन गर्न सरकारले नयाँ छानवीन समितिलाई आवश्यक निर्देशन दिएको पनि स्पष्ट पार्नु भयो ।

शनिबार सो हत्याकाण्डको यथोचित छानवीन गर्न माग गर्दै बालुवाटार पुगेका प्रदेश ७ का पार्टीका सांसद एवम् नेताहरुसँगको सामूहिक भेटमा प्रधानमन्त्री ओलीले छानवीनमा लापरबाही गरेको पाइए प्रहरी प्रशासनलाई समेत कडा कार्वाही गर्ने बताउनु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद भिम रावलले जानकारी दिनु भयो ।

भेटमा प्रदेश ७ का नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद एवम् नेताहरुले किशोरी पन्तको हत्यारालाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न पार्टीका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँग आग्रह गरेका थिए ।

हत्यारालाई छानवीन गर्ने क्रममा भएका कमीकमजोरी औंल्याएर जनता समक्ष सार्वजनिक गर्न पनि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइएको सांसद रावलले जानकारी दिनु भयो ।

बलात्कारपछि हत्या गरिएकी किशोरी पन्तको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न माग गर्दै आएका प्रर्दशनकारीमाथि प्रहरीले गोली हान्दा शुक्रबार एक जना बालकको पनि ज्यान गएको र केही घाइते भएका छन ।

सो घटनाबारे पनि छानवीन गरी दोषीलाई कार्वाही र पीडितलाई तत्काल राहतको व्यवस्था गर्न पनि प्रधानमन्त्री ओलीको गम्भिर ध्यानाकर्षण गरिएको सांसद रावलले बताउनु भयो ।

Loading...