आध्यात्मिक सांगितीक व्याण्ड ‘सत्याकृत’ को नयाँ गीत सार्वजनिक

चितवन । प्रेम, शान्ति र सद्भावको भाव दिन स्थापित नेपालको एकमात्र आध्यात्मिक सांगीतिक समूह सत्याकृत व्याण्डको नयाँ गीत सार्वजनिक भएको छ । यूट्युब च्यानलमार्फत सार्वजनिक भएको ‘जिन्दगीको के सार हुनु यदि सत्यको आधार नहुनु’ बोलको गीतमा व्याडका प्रजित लामाले स्वर दिएका छन्।

बुढासुब्बा म्युजिकले बजारमा ल्याएको यो म्युजिक भिडियोको छायांकन दुबईमा गरिएको हो । युवाहरुमा नैतिक जागरण तथा सांस्कृतिक जगेर्ना गर्न सकारात्मक पहल गर्ने उद्देश्यले पाँच वर्ष अगाडि विजय गौतमको अध्यक्षतामा सत्याकृत फाउण्डेसन स्थापना भई सोहीअन्तर्गत व्याण्डको स्थापना भएको हो।

आमश्रोता तथा दर्शकहरुमा प्रेरणादायी र सकारात्मक भाव दिने उद्देश्यले पूर्वेली र पश्चिमेली शैलीका गायन र वाद्यवादनलाई समिश्रित गरेर गीत, भजन बनाएर प्रस्तुत गर्ने काम ब्याण्डले गरेको छ । ‘सत्याकृत’ र ‘सत्यश्री’ गरेर दुईवटा एल्बम बजारमा ल्याएको व्याण्डले नेपालका प्रमुख शहरहरुलगायत भारत र दुबईमा आफ्नो प्रस्तुति दिइसकेको छ।

यस व्याण्डमा सुरसाधु, प्रजित लामा, विदुर न्यौपाने, किरण गौतम, अर्जुन सुनार, लक्ष्मण बयलकोटी, सुरज रिजाल, कमल भण्डारी रहेका छन् । व्याण्डका सदस्य सुरसाधु भरतपुर महानगरपालिका– २७ मेघौलीको तेलौलीका हुन् । व्याण्डका सबै सदस्यहरुले त्रिभुवन विश्वविद्यालयबाट संगीत विषयमा स्नातक र स्नात्तकोत्तर गरेका छन्।

यस व्याण्डका सदस्य सुरसाधुले नेपाल बुद्धको भूमि र शिवको भूमि, ऋषिमुनिहरुले तपस्या र ध्यान गर्ने देश भएकोले यसप्रकारका आध्यात्मिक गीतहरुको सामाजिक महत्व ठूलो रहेको बताए । उनले भने, ‘ विश्वको शीर मानिएको सगरमाथाको देश नेपाल अपवित्र भए विश्वनै अशान्त र विशुद्ध हुने भएकोले संगीतमार्फत् विश्वलाई सकारात्मक सन्देश दिन हामी लागेका छौं ।’

Loading...