एसिया कप छनोट खेलमा नेपालको पहिलो जित, आयोजक मलेसिया १९ रनले पराजित

काठमाडौँ । एसिया कप छनोटमा नेपालले पहिलो जित हात पारेको छ। शनिबार भएको खेलमा नेपालले आयोजक मलेसियालाई १९ रनले पराजित गरेको हो।

जितसँगै नेपाल अंक तालिकाको पाँचौँ स्थानमा छ। अब नेपालले बाँकी दुर्इ खेलमा सिंगापुर र हङकङलार्इ पराजित गर्नुपर्नेछ। अंक तालिकाको शीर्ष दुर्इमा रहन सके नेपालले फाइनल खेल्नेछ र फाइनल जितेमा एसिया कपमा छनोट हुनेछ।

अंक तालिकामा ओमान तीन खेल जित्दै शीर्ष स्थानमा छ। दुर्इ खेलमा जित र एकमा हार बेहोरेको हङकङ र यूएर्इ क्रमश: दोस्रो र तेस्रो स्थानमा छन्।

नेपालले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको मलेसिया ३० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६९ मै समेटियो। मलेसियाका अनवर आरुदिन र सायद अजिजले समान ३४-३४ रन जोडे।

नेपालका बसन्त रेग्मीले ३, सन्दीप लामिछाने र सोमपाल कामीले २-२ र सागर पुन र दीपेन्द्र ऐरीले १-१ विकेट लिए।

त्यसअघि बर्षाका कारण निर्धारित समयमा खेल सुरु हुन नसकेपछि खेल ३० ओभरमा छोट्याइएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले दीपेन्द्र ऐरी र आरिफ सेखको अर्धशतकीय पारीको मदतमा ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो।

आरिफले नटआउट ६४ रनको पारी खेले। ४८ बलको सामना गरेका उनले ५ चौका र २ छक्का प्रहार गरे। यस्तै दीपेन्द्रले ५४ रन जोडे। ५१ बल खेलेका दीपेन्द्रले ६ चौका र १ छक्का प्रहार गरेका थिए।

यस्तै अनिलकुमार साहले १६, कप्तान पारस खड्काले १३, उपकप्तान ज्ञानेन्द्र मल्लले ११ रन जोडेका थिए।

यो जितसँगै सुरुवाती दुर्इ खेलमा पराजय भोगेको नेपालका लागि एसिया कपमा छनोट हुने सम्भावना जीवित राखेको छ।

पहिलो खेलमा नेपालले ओमानसँग ७ विकेटको फराकिलो अन्तरले पराजित भएको छ। दोस्रो खेलमा नेपाल यूएर्इसँग ७८ रनले पराजित भएको छ।

एशिया कपको छनौट खेल नेपालसहित आयोजक मलेसिया, युनाइटेड अरब इमिरेटस् (युएइ), हङकङ, सिंगापुर र ओमान रहेका छन्। शीर्ष स्थानमा रहने टोली एसिया कपमा छनोट हुनेछ।

शीर्ष स्थानमा रहने टोली एसिया कपको समूह ए मा पर्नेछ। उक्त समूहमा भारत र पाकिस्तान रहेका छन्। एशिया कप भदौ २८ देखि असोज १२ गतेसम्म युएइमा हुनेछ।

नेपालले यसपछि सिंगापुरसँग भदौ १७ तथा हङकङसँग भदौ १९ गते खेल्नेछ। प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।

Loading...