ट्रेकिङ गएका पर्यटकलार्इ खोलाले बगायो, तीन दिन देखि वेपत्ता

कास्की । पदयात्राका क्रममा अन्नपूर्ण क्षेत्रमा पुगेका एक विदेशी पर्यटकलाई खोलाले बगाएको छ ।

ताइवानका ६६ वर्षीय हुई जू चिइन अन्नपूर्ण आधार शिविरबाट फर्किने क्रममा शुक्रबार दिउँसो ३ बजे कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हिम्कु खोलाले बगाएको हो ।

आठ जनाको समूहमा पदयात्रामा पुग्नुभएका पर्यटक चिइन चिप्लेर खोलामा बेपत्ता भएको घान्द्रुक प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक तुलबहादुर गुरुङले जानकारी दिए । टोलीमा गाइड र पोर्टर गरी सातजना नेपाली पनि सहभागी थिए ।

शनिबार दिनभर उनको खोजी भए पनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । घटनास्थल प्रहरीचौकीबाट १३ घण्टा पैदल दूरीमा छ । लगातारको वर्षा र साँघुरो खोँच भएकाले खोजीमा कठिनाइ भएको प्रहरीको भनाइ छ ।

Loading...