चितवनमा अन्तर्राष्ट्रिय पोल्ट्री सम्मेलन : १० देशका तीनसय बढी वैज्ञानिक भागी लिने

आगामी कार्तिक ११ देखि १३ गतेसम्म चितवनको भरतपुरमा हुने नेपालकै पहिलो अन्तर्रा्ष्ट्रिय पोल्ट्री सम्मेलनमा १० देशका ३०० भन्दा बढी वैज्ञानिकहरु सहभागी हुने भएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालय, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकाय रामपुर चितवनको आयोजनामा हुन लागेको अन्तर्रा्ष्ट्रिय पोल्ट्री सम्मेलनमा नेपाल, भारत, जापान, अष्ट्रेलिया, जर्मनी, बंगलादेश, कम्बोडिया, इजिप्ट, भुटान र युएस वैज्ञानिकहरुले कुखुरापालनमा प्रविधियुक्त आधुनिक खोजमुलक कार्यपत्र प्रस्तुत गर्नेछन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयले भरतपुरमा बिहिवार पत्रकार सम्मेलन गरी अन्तर्रा्ष्ट्रिय सम्मेलनमा देशविदेशका वैज्ञानिकहरुले पोल्ट्रीसँग सम्बन्धित खोज अनुसन्धानमूलक कार्यपत्रहरु प्रस्तुत गर्ने जनाएको छ । अन्तर्रा्ष्ट्रिय पोल्ट्री सम्मेलन मूल आयोजक समिति अध्यक्ष प्राडा शारदा थपलियाले सम्मेलनमा १७ वटा विशेष आमन्त्रित, ३३ वटा मौखिक र ६२ वटा पोस्टरहरु प्रस्तुत हुने जानकारी दिनुभयो । 

पत्रकार सम्मेलनमा उहाँले उत्कृष्ट पोष्टरमध्ये पहिलो हुनेलाई २० हजार, दोस्रोलाई १५ हजार, तेस्रो हुनेलाई १० हजार, सान्त्वना हुनेलाई ५÷५ हजारका दरले पुरस्कृत गरिने समेत बताउनुभयो ।

सम्मेलनमा कुखुरा उत्पादनसम्बन्धी नीतिगत र सामाजिक आर्थिक अवस्था, कुखुराको पोषण व्यवस्थापन, स्वास्थ्य व्यवस्थापन, कुखुराको अनुवांशिकी, प्रजनन् व्यवस्थापन तथा जैविक प्रविधि र एकीकृत तथा ग्रामीण कुखुरापालनजस्ता विद्याहरुमा वैज्ञानिकहरुले कार्यपत्र प्रस्तुत गर्ने अध्यक्ष प्राडा शारदा थपलियाले जानकारी दिइन्।

सम्मेलनमा भाग लिन भारतीय पोल्ट्री साइन्स एशोसिएसन उपाध्यक्ष प्राडा देवेन सापकोटा, जापानिज पोल्ट्री साइन्स एसोसिएसनका उपाध्यक्ष डा नाओकी गोतो, पोल्ट्री अनुसन्धान फाउन्डेसन, अष्ट्रेलियाका निर्देशक पिटर गुम्स, भारतीय कृषि अनुसन्धान परिषद् तथा केन्द्रीय कुखुरा अनुसन्धान संस्थानका निर्देशक सुनिलचन्द गिरीलगायत विदेशी वैज्ञानिकहरुको सहभागतिा रहनेछ ।

खाद्य स्वच्छता र सुरक्षाको लागि पोल्ट्रीको माग परिपूर्ति भन्ने मूल नाराका साथ सम्मेलन हुन लागेको विश्वविद्यालयले जनाएको छ । सम्मेलनमा नेपालका पोल्ट्री उद्योगहरु, व्यावसायिक किसानहरुसहित यो क्षेत्रसँग सम्वन्धित विभिन्न संघ–संस्थाहरुको सहभागिता रहनेछ । सरकारी र निजी क्षेत्रको लागिसम्मेलन फलदायी सावित हुने विश्वविद्यालयका उपकुलपति प्राडा। ईश्वरीप्रसाद ढकालले जानकारी दिनुभयो ।

कार्यक्रममा पोल्ट्री विज्ञ डा। तिलचन्द्र भट्टराईले नेपालको पोल्ट्री क्षेत्रमा विदेशी लगानी आवश्यक नभएको बताउनुभयो । उहाँले विदेशी लगानीले यहाँका व्यवसायीहरु धराशायी हुनसक्ने हुनाले यस कार्यलाई रोक्न सरकार लाग्नुपर्ने उहाँको भनाइ थियो । नेपालको कुल ग्रार्हस्थ उत्पादनको करिब ४ प्रतिशत र कुल कृषि गार्हस्थ उत्पादनको करिब ८ प्रतिशत हिस्सा पोल्ट्री क्षेत्रले ओगटेको छ।

आत्मनिर्भरउन्मुख पोल्ट्री क्षेत्रमा करिब १ लाख ५० हजार प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाएका छन् । पशु सेवा विभागको सन् २०१७ को तथ्याङ्क अनुसार नेपालमा करिब ७ करोड कुखुरा छन् । देशको कूल मासु उत्पादनको करिब १७।२ प्रतिशत हिस्सा पोल्ट्री क्षेत्रले ओगटेको छ ।

Loading...