जनएकता उपभोक्ता सहकारीको १०औं साधारण सभा सम्पन्न

चितवन,खोलेसिमल । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ खोलेसिमल बजारमा रहेको जनएकता उपभोक्ता सहकारी संस्था लि. को १०औं वार्षिक साधारण सभा चौथो अधिवेशन आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ओम प्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभाका सांसद घनश्याम दाहाल रहेका थिए ।

कार्यक्रममा सांसद दाहालले उपभोक्ता सहकारीले बजारमा मूल्य नियन्त्रण गर्नुका अतिरिक्त कालोबजारी नियन्त्रण गर्न समेत सहयोग गर्ने बताए । सहकारीलाई सरकारले अर्थतन्त्रको मुख्य हिस्साको रुपमा लिएको बताउँदै सांसद दाहालले यस्ता सहकारीहरु गाउँ गाउँमा खोल्न सके स्थानीयहरुलाई सहज हुने समेत उनले बताए ।

विगतमा उपभोक्ता सहकारीहरु धेरै स्थानमा स्थापना भएतापनि निरन्तरता पाउन नसकेको भन्दै यस क्षेत्रमा विगत १० वर्षदेखि संचालित यस सहकारीले पूर्वी चितवनमा नै महत्वपूर्ण कारोवार गरेकोमा उनले खुशी समेत व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष रघुनाथ सापकोटाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने लेखा संयोजक लक्ष्मी नारायण चौलागाईले आन्तरीक लेखा प्रतिवेदन र कोषाध्यक्ष केदारनाथ तिवारी लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए।

संस्थाका अध्यक्ष ओम प्रसाद लामिछानेले संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा आगामी वर्षको अनुमानित कार्ययोजना प्रस्तुत गरेका थिए । सो साधारण सभा उत्कृष्ट कारोवार गर्नुहुने शेयर सदस्य बुद्धि प्रसाद पाण्डे, केदारनाथ तिवारी, शान्ति थिङ र विन्ध्येश्वरी निमावीलाई सम्मान गरिएको थियो ।

सोही अवसरमा संस्थाका कर्मचारी एवम् पूर्व कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरु, लेखा समिति, सल्लाहकार समिति एवम् संस्थालाई महत्वपूर्ण योगदान पु¥याउनुहुने व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

सो अवसरमा नेकपाका नेता रामध्वज डल्लाकोटी, जयचन्द्र प्रसाद चौधरी, जुटपानी गरिबी निवारण तथा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष सुदर्शन अधिकारी, निर्वाचन समितिका संयोजक द्रोण प्रसाद लामिछाने, सल्लाहकार समितिका संयोजक कृष्ण प्रसाद भट्ट, कालिका वडा नं. १ का वडा अध्यक्ष लिला बहादुर गुरुङ्ग, खोलेसिमल बजार व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद भण्डारी, शेयर सदस्य भोजराम थपलिया लगायतले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो संस्थाको चौथो अधिवेशनको निर्वाचन प्रक्रिया यही असोज २२ गते ११ बजेबाट शुरु हुने र सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने सन्दर्भमा छलफल भइरहेको समेत निर्वाचन समितिका संयोजक द्रोण प्रसाद लामिछानेले जानकारी दिए ।

Loading...