अमिलो बेच्ने बहानामा बेहोस बनाई लुटपाट गर्ने दुई पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले चितवनको विभिन्न स्थानबाट मानिसलाई बेहोस बनाइ लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरेर माडीमा रातको समयमा बास मागी अँपको जुस खुवाएर घरको परिवारलाई बेहोस बनाइ लुटपाट गर्ने दुई जना लुटेरालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका वडा नं.२ घर भई हाल तनहु जिल्लाको देवघाटमा डेरा गरी बस्ने ४९ वर्षीय हरि गोले र कास्की माछापुच्छ्रे गाउपालिका वडा नं.६ बस्ने वर्ष ५६ को गोपाल भन्ने कालु परियार रहेका छन् । गोलेलाई प्राविधिक अनुसन्धानको आधारमा गत शुक्रबार बिहान अँपटारीबाट र गोलेलाई लुटपाटको लागि प्रयोग गरिने औषधि, इन्जेक्सन, टर्च, जुससहितको बोतलसहित शुक्रबार बेलुका बुटवल बसपार्कबाट पक्राउ गरिएको हो ।

उनीहरुले गत शुक्रबार राति चितवनको माडी नगरपालिका वडा नं.६ कल्याणपुर वडा कार्यालय नजिक नामथर वतन नखुलेका पहाडे मुलका एक महिला र एक पुरुष दिनभर गाउमा अमिलो बेच्ने बहानामा लुट्न लगाएका थिए । उनीहरुले भीमबहादुर सुनारको घरमा गई बास मागी निजकी आमा मायाकुमारी सुनार र श्रीमती अनिशा सुनार तथा निज कै ४ वर्षकी छोरीसहित सब परिवारलाई पेय पदार्थ आपको जुसमा बेहोस हुने औषध मिसाइ खुवाएर बेहोस बनाइ घरमा रहेको करिब १५ तोला सुनका गरगहना, दुई थान मोबाइल सेट लुटेर उक्त स्थानबाट भागी फरार भएका थिए ।

भोलिपल्ट बिहान घरका मानिसहरु नउठेपछि स्थानियवासीले उक्त घटनाको बारेमा थाहा पाई इलाका प्रहरी कार्यालय माडीमा खबर गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । माडी घटनामा निज अभियुक्तहरुले लुटपाट गरेको सुन दुई लाख ८० हजारमा बिक्री गरी प्राप्त रकम दामासाहीमा बाँडफाड गरेको भन्ने खुल्न आएको, उक्त सुन कहँ कसलाई बिक्री गरेको भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

५६ वर्षीय कालु परियारले बेहोस बनाउने भनिएको औषधि एटिभन भारत नौतुनवा गोरखपुरबाट खरिद गरी ल्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । १५ वर्ष पहिला गोरखपुर भारतमा होटलमा काम गर्दा एक जना भारतीय नागरिकबाट यस्तो अपराध गर्न सिकेको उनले बताएका छन् ।

उनले सुर्खेत, नेपालगञ्ज र बुटवलबाट हजारौ रुपैया लुटपाट गरेको खुल्न आएको छ । पोखरा बसपार्कको होटलमा बसी सो रकम मध्ये कालु परियारले एक लाख लिई बँकी रकम हरि गोले र महिलालाई बँडेको भेटिएको छ । चितवन प्रहरीका पवक्ता डीएसपी प्रभुप्रसाद ढकालले चितवनमा यस प्रकारको अपराधको शैली नया भएको बताउनुभयो ।

उहाले साझको समयमा घरमा बास मागेर परिवारका सम्पूर्ण सदस्यहरुलाई नै बेहोस हुने गरी लुटपाट गरिनुले प्रहरीलाई पनि नया शिक्षा भएको बताउनुभएको छ ।

Loading...